सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भए पनि सञ्चालन हुने सम्भावना निकै कम रहेको संसद् सचिवालयले जनाएको छ।
सभामुखसँगको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र सहभागी भए पनि रास्वपा अनुपस्थित रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपत्यका बाहिर रहेकाले बैठक सञ्चालन हुने सम्भावना कम छ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। जेठ १३ देखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति बन्न सकेको छैन।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र छलफल गर्ने सम्भावित कार्यसूची छ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
प्रमुख विपक्षीसहितका प्रतिपक्षी दलको निरन्तर अवरोधले संसद् बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२ १३:१७ बुधबार





