राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आउनेबित्तिकै जादुगरी ढङ्गले सबै समस्याको समाधान नहुने स्वीकारेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै थापाले यस्तो बताएका हुन्।
तर, 'मोरल अथोरिटी' आवश्यक भएको थापाको भनाइ छ। 'राजसंस्था आउनेबित्तिकै सबै समस्याको समाधान हुने होइन, फेरि राजाले शासन गर्ने होइन। राजतन्त्र होइन, राजसंस्थासहितको प्रजातन्त्र वा लोकतन्त्रको हामी कुरा गरिरहेका छौँ। राजसंस्था आएपछि पनि शासन गर्ने त जनताको प्रतिनिधि दलहरूले नै हो। तर, एउटा कुरा के विचार गर्नुपर्छ भने राजसंस्था आइसकेपछि नैतिक अधिकार संस्था कायम हुन्छ। जुन अहिलेको राष्ट्रपतिले गर्न सक्दैन। दलको टिकट, भोट र दलको प्रतिनिधि राष्ट्र प्रमुख हुने व्यवस्था हुँदा त्यो स्वतन्त्र र साझा अभिभावक हुन नसक्ने रहेछ भन्ने अहिलेको अभ्यासले देखाएको छ,' उनले भने।
राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्तिहरू फेरि फर्केर राजनीतिक दलमा क्रियाशील हुने अवस्था रहेको उल्लेख गर्दै उनले भने, 'यसले साझा अभिभावकको अनुभूति दिन सक्दैन। हामीले केवल नैतिक अधिकार भएको संवैधानिक राजसंस्थाको कुरा गरेका हौँ। यस कुरालाई सरल ढङ्गले बुझ्दा अभिभावक नभएको परिवारमा झाडातन्त्र आउन सक्दछ। जसरी अभिभावक भएको घरमा चाहे त्यो बूढा बुवा होस् वा बूढी आमा होस्, त्यहाँ एउटा मर्यादा हुन्छ। छोरा, छोरी वा बुहारीले राति अबेर जाँडरक्सी खाएर घर जाँदा रिसाउँछन् भनेर सोच्छ, छिटो गर्छ।'
थापाले राजाले शासन गर्ने नभई सचेत गराउने मात्रै काम गर्ने उनले बताए। 'राजाले शासन गर्ने होइन, प्रधानमन्त्री, तिम्रो सरकारको बारेमा मैले यस्तो यस्तो सुनेको छु, विचार गर है भन्ने हो। अरु के भन्ने ?,' उनले भने।
प्रकाशित: २१ जेष्ठ २०८२ १९:५७ बुधबार



-600x400.jpg)

