नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले शिक्षामा दक्ष मानव तथा आर्थिक पुँजी पलायनप्रति चिन्ता व्यक्त गरेका छन्। बुधवार राष्ट्रिय सभा बैठकमा सात वर्षको पुँजी पलायनको आँकडा प्रस्तुत गर्दै चिन्ता सांसद पौडेलले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
‘शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार हो। आफ्नो भविष्य आफै निर्माण गर्न सक्ने योग्य, दक्ष, सीपयुक्त, क्षमतावान्, उद्यमशील र उत्पादक मानव पुँजीको विकास नभएसम्म मुलुकको विकास सम्भव छैन,’ सांसद पौडेलले भने, ‘तर अध्ययनका लागि बिदेसिने अब्बल युवाहरूको संख्या बढेसँगै ठुलो आकारमा पुँजी बाहिरिने क्रम बढेको निम्न तथ्य र तथ्याङ्कले प्रमाणित गर्दछ।’
त्यसपछि सांसद पौडेलले आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको फागुनसम्मको आर्थिक पुँजी पलायनको तथ्यांक बैठकमा सुनाए।
सांसद पौडेलले प्रस्तुत गरेको तथ्यांकअनुसार आव ०७५/७६ मा ४६ अर्ब ४२ करोड, आव ०७६/७७ मा २५ अर्ब ८१ करोड, आव ०७७/७८ मा २४ अर्ब ९५ करोड, आव ०७८/७९ मा ६७ अर्ब ७० करोड, आव ०७९/८० मा एक खर्ब ८२ करोड, आव ०८०/८१ मा एक खर्ब २५ अर्ब १३ करोड र चालु आवको फागुनसम्म एक खर्ब तीन अर्ब ८४ करोड रकम वैदेशिक शिक्षाका नाममा पलायन भएको देखिन्छ।
‘यस्तो तथ्य र तथ्यांकले मुलुकको चुनौतीपूर्ण भविष्यको संकेत गरेको हुँदा नेपालमै टिक्ने र बिक्ने मानव पुँजीको निर्माणका लागि सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ सांसद पौडेलले भने।
प्रकाशित: २१ जेष्ठ २०८२ १४:५२ बुधबार





