१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक भन्दै मानवअधिकार आयोगले भन्यो- अभिव्यक्ति दिँदा संयमित हुनू

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चिन्ताजनक भएको बताएको छ।

यसअघि आइतबार (हिजो) प्रधानमन्त्री ओलीले जेठ १५ गतेको राजावादी आन्दोलनलाई निस्तेज पार्नुपर्ने भन्दै त्यस दिन काठमाडौं नेकपा (एमाले) को नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए। यसपछि आयोगले सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई अभिव्यक्ति दिँदा संयमित हुन भनेको हो।

'जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ,' त्यहाँ भनिएको छ।

देशको शान्ति-सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुने कुरा विज्ञप्तिमा उल्लेख छ।

त्यो निषेधलाई प्रशय दिनुसमेत हुने उल्लेख गर्दै त्यहाँ भनिएको छ, 'शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन। यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ।'

जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेतविपरीत हुने जनाइएको छ।

प्रकाशित: १२ जेष्ठ २०८२ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App