राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गृहमन्त्री रमेश लेखकलाई उनका विगतका अभिव्यक्ति सम्झाउँदै ‘घृणाको कारक नभएर राजीनामा दिन’ सुझाव दिएको छ। शनिवार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृहमन्त्री लेखकलाई यस्तो सुझाव दिएको हो।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ,’ बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौँ।’
दुई ठुलो दलको १० महिने गठबन्धन सरकार बनेको ७ बुँदे आधारमा फिटिक्कै केही काम नगरेर देशमा व्याप्त निराशा थप्ने, सुशासनको धज्जी उडाउने गरेको रास्वपाको विज्ञप्तिमा उल्लेख छ। यस्तै सरकारले काम गर्नेहरूलाई लखेट्ने र हरेक संवैधानिक निकाय र राज्य संयन्त्रलाई दलीय करण गर्ने गैर राजनीतिक अभ्यास गरिरहेको पनि आरोप लगाइएको छ।
‘सरकारको गृहमन्त्री र उनका सचिवालय नै भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको रास्वपाको विज्ञप्तिमा भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
विगतमा रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहँदा सहकारी ठगीको आरोप लागेको थियो। अहिले त्यही आरोपमा उनी पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। रविको प्रसंग उठेका बेला कांग्रेसको प्रमुख सचेतक रहेका लेखकले नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए। त्यही कुरा अहिले रास्वपाले लेखकलाई सम्झाएको छ।
प्रकाशित: १० जेष्ठ २०८२ १९:३७ शनिबार





