१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कोशीको नीति तथा कार्यक्रम : 'कृषक सबैभन्दा अगाडि' अभियान चलाउने, 'सुखी नेपाली, समृद्ध नेपाल'को आकाङ्क्षा पूरा गर्ने

कोशी प्रदेश सरकारले 'कृषक सबैभन्दा अगाडि' अभियान सञ्चालन गर्ने भएको छ। सरकारले यसको घोषणा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमार्फत गरेको हो।

सोमबार (आज) प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ— कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्न अगुवा कृषकको पहिचान गरी सम्मान गरिनेछ। उद्यमशीलता जागृत गर्न 'कृषक सबैभन्दा अगाडि' भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषिक केन्द्रित अभियान सञ्चालन गरिनेछ।

यस्तै सरकारले 'सुखी नेपाली, समृद्ध नेपाल'को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने घोषणा गरेको छ। 'प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेश सरकारको दीर्घकालीन सोच स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण तथा 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।

यस्तै सरकारले शासकीय सुधार, सुशासन, नागरिकमैत्री सेवा प्रवाह, लगानीमैत्री वातावरण तयार पार्ने विषयलाई जोड दिएको छ। सुशासन प्रवर्द्धन तथा शासकीय सुधारमा जोड दिई प्रदेश केन्द्रित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने, मुख्यमन्त्री ड्यासबोर्डको सुधार गरी सञ्चालनमा ल्याउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवामा कार्यरत कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तीभरण कोषको स्थापना र सञ्चालन गर्ने, विद्युतीय अभिलेख केन्द्र स्थापना गर्ने, परियोजना विकासलाई लगानीमैत्री बनाउन एकल बिन्दु सेवा प्रणालीमार्फत सेवा प्रवाह गर्ने, ग्रीन इनर्जीको प्रयोग बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ५ जेष्ठ २०८२ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App