१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

डडेलधुरा पुग्दा देउवा सम्झिने ती ओली यी दाहाल

दाहाल–ओलीको उस्तै यात्रा र अवस्था, संवाद सद्भाव कि चालबाजी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यति बेला सुदूरपश्चिम पहाडमा छन्। माओवादी केन्द्रले बैतडीबाट सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानका लागि दाहाल सुदूरपश्चिम पहाड पुगेका हुन्। 

सोही क्रममा दाहाल बिहीबार डडेलधुरामा बास बसे। बिहान दाहालको उपस्थितिमा प्रेस सेन्टर नेपालले डडेलधुरामै पत्रकार सम्मेलनको आयोजना गर्‍यो। जसमा झन्डै १५ मिनेट जति दाहालले आफ्ना कुरा राखे। 

कुरैकुरामा दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्झिए। देउवासँग टेलिफोनमा कुराकानी भएको पनि बताउन भ्याए। 

‘यो अब शेरबहादुर देउवा जीको जिल्ला भनेर पनि चिनिन्छ। म यहाँ बस्दै गर्दा  देउवा जीसँग पनि सम्पर्क भयो,’ पत्रकार सम्मेलनमा दाहालले भने, ‘र, उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो।’ डडेलधुरा बस्दै गर्दा कांग्रेसका पुराना नेताहरूसँग पनि भेट भएको र निकै सकारात्मक तथा राम्रो वातावरण भएको पनि बताए। 

दाहालले यत्ति भनेपछि त्यसपछि पत्रकारका प्रश्नहरू तेर्सिए। पत्रकारका प्रश्नमा सरकार फेरबदलका कुरा पनि उठे। जसमा भने दाहालले आलटाले जवाफ दिएर पन्छिए। 

‘यो कुरामा नि हाम्रो पार्टीको दलको हिसाबले भन्दा अहिले सरकार तिर, सरकार ढलाउनेतिर या बनाउनेतिर हाम्रो ध्यान छैन,’ दाहालले भने। तर देश गलत बाटोमा हिँडिरहेकामा आफूलाई चिन्ता रहेको भन्न भ्याए। 

‘यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोतिर हिँडिराख्या छ। सरकारले हामीले सुरु गरेका सुशासनका काम भत्काउनेतिर लागेको छ। राम्रा काम गर्नेलाई निरुत्साहित नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने उल्टो बाटो तिर हिँड्दै छ। हामी चिन्तित छौँ,’ उनले भने। 

डडेलधुरा पुग्दा देउवालाई सम्झिने र त्यसलाई सार्वजनिक रूपमै अभिव्यक्त गर्ने वर्तमान शीर्ष नेतामध्ये दाहाल पहिलो भने होइनन्। यसै गरी दुई वर्षअघि ०८० मंसिर १५ गते हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि डडेलधुरा पुगेर देउवासँग कुरा गरेका थिए। देउवासँग उनले गरेको टेलिफोन कुराकानीको भिडिओ आफैले फेसबुकमा राखेका थिए। 

‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला,’ ओलीले फेसबुकमा राखिएको भिडिओको क्याप्सनमा लेखेका थिए,‘यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेलधुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुर जी।’ त्यसपछि ओलीले ‘सचिवालयले गुडविल कलका रूपमा यसको भिडिओ बनाएको रैछ। त्यसैले यसलाई पोस्ट गरेको छु’ भनेर लेखेका थिए।

यात्रा उस्तै, अवस्था उस्तै

अहिले दाहाल र उहिले ओली डडेलधुरा पुगेर देउवालाई सम्झिनुपर्ने राजनीतिक  अवस्था लगभग उस्तै छ। फेरिएको मात्र ओली र दाहालको अवस्था र भूमिका छ। देउवाको अवस्था र भूमिका समान नै छ।

उहिले देउवाको सहयोगमा दाहाल प्रधानमन्त्रीको कुर्सीमा विराजमान थिए। प्रतिपक्षमा रहेका ओली नेकपा एमालेको पुष्पलाल(मध्य पहाडी) लोकमार्ग केन्द्रित अभियान लिएर यात्रारत थिए। 

अहिले देउवाको सहयोगमा ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन्। हठात् प्रतिपक्षमा पुगेका दाहाल जनतामाझ जाने भन्दै मध्य पहाडी लोकमार्ग केन्द्रीत अभियान भनेर यात्रामा निस्किएका छन्। 

एउटै मार्गको फरक यात्राको संयोगमा ओली र दाहाललाई डडेलधुरा पुगाएको हो। जहाँ पुगेपछि दुवैले देउवा(उहिले ओली, अहिले दाहाल)लाई सम्झिए। दुवैलाई देउवाले काठमाडौंबाटै डडेलधुरामा स्वागत भने। 

देउवासँगका संवाद सद्भाव कि रणनीतिक?

मित्रवत् सम्बन्धमा मित्रको घर भएको ठाउँ वा जिल्लामा जाँदा सम्झनु सामान्य सद्भाव र आत्मीयताको बिम्ब मानिन्छ। सामान्य सम्बन्धमा यस्ता कुरा सामान्य नै हुन्छन्। तर राजनीतिज्ञहरूमा हुने प्रतिस्पर्धात्मक भावले त्यसलाई केही फिक्का बनाउन सक्छ। यद्यपि मित्रवत् सम्बन्ध नै हुँदै हुन्न भने भन्न सकिन्न। 

नेपालको पछिल्लो दशकको राजनीति देउवा, ओली र दाहाल वरिपरि नै घुमेको छ। यसर्थमा यी नेता प्रधानमन्त्रीका चरम प्रतिस्पर्धी पनि हुन्। 

प्रतिस्पर्धासँगै यी नेता एक अर्काको सहयोगमा पटक पटक प्रधानमन्त्रीको सिँढी चढेका छन्, यिनैले सिँढी भत्काउने र ढाल्ने गरेका छन्। भलै भूमिकाको दोष कसैको कम, कसैको बढी होला! 

सत्ताको ‘म्युजिकल चेयर’मा यी तीन जनाले एकले अर्कोलाई देखाउँदै शंकाको वातावरण सिर्जना गर्ने र आफ्नो स्वार्थपूर्ति गर्ने राजनीतिक खेल पनि खेल्दै आएका छन्। यसर्थ परस्पर हुने हरेक जसो संवादमा शंकाको वातावरण सिर्जना हुने गर्छ। 

यो संवाद र शंकाको खेलमा ओली र दाहालको तुलनामा देउवा बढी इमानदार र विश्वासिला मानिन्छन्। 

तर बेलाबखत देउवासँगको संवादलाई देखाएर ओली–दाहाल शंकाको वातावरण बनाउने प्रयास गर्दै आएका तमाम उदाहरण छन्। 

उहिले प्रतिपक्षमा रहेका ओलीले डडेलधुराबाट देउवासँग टेलिफोन संवाद गरेर दाहाललाई झस्काउने कोसिस गरेको राजनीतिक वृत्तमा चर्चा भएको थियो। त्यसले दाहाल र देउवाबिच शंकाको वातावरण सिर्जना गरेको सतहमै भने देखिएन। तर, एमालेले मध्य पहाडी लोकमार्ग यात्रा सके लगत्तै ०८० फागुन २१ मा दाहालले देउवाको साथ छाडेर एमालेसँग कोल्टे फेरेका थिए। 

अहिले ओली र देउवाको सत्ता सहयात्रामा दाहालले भाँजो हाल्ने खुला कोसिस गरी नै रहेका छन्। केही समयअघि दाहालले नै देउवालाई प्रधानमन्त्री बन्न खुला ‘अफर’ गरेका थिए। देउवा प्रधानमन्त्री बने माओवादी केन्द्रले बाहिरै बसेर सरकारलाई समर्थन गर्ने पनि उनले भनेका थिए। तर देउवा तयार नभएपछि पछिल्लो समय दाहालको बोली फेरिएको छ। 

यस्तोमा दाहाल डडेलधुरा पुग्दा गरेको टेलिफोन वार्ता शङ्कारहित भने हुने देखिन्न। तर त्यो मित्रवत् मात्रै हो कि रणनीतिक त्यसको नतिजा हेर्न भने कुर्नै पर्ने हुन्छ। 

प्रकाशित: २ जेष्ठ २०८२ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App