२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

बजेटमा लैङ्गिक समावेशीकरणलाई प्राथमिकता दिन माग

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई समान अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन्। 

प्रदेश सुशासन केन्द्र बागमतीले ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले लैङ्गिक समानता, समावेशीकरण र बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिने उद्देश्य रहेको बताएका हुन्।

उनले भने, ‘प्रदेशसभामा महिलाहरूको उल्लेख्य सहभागिता छ, अब समावेशीकरणमा ठूलो फड्को मार्नेछ भन्ने आशा छ, यस्ता अभिमुखीकरणबाट प्राप्त ज्ञानले सबै वर्ग, समुदाय, जातजाति र लिङ्गबीच समानता कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’  

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा यो कार्यक्रम सकारात्मक भएको बताए। उनले भने, ‘समावेशीकरण संविधानको सुन्दर पक्ष हो। राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सकारात्मक छ, तर महिलाभित्रको असमान अवस्थालाई सम्बोधन गर्नु चुनौती छ, अब समावेशीकरणसँगै महिलाहरूको आर्थिक सक्षमता अभिवृद्धिमा जोड दिनुपर्छ। महिलाको प्रतिनिधित्व ५१ प्रतिशत पुर्‍याउन सक्नुपर्छ, दक्षिण एसियामा मात्र होइन, एसियामा नै महिला सहभागितामा हामी अगाडि छौँ, यो महत्त्वपूर्ण छ।’ 

उपसभामुख अप्सरा चापागाईँले सकारात्मक सोचले जिम्मेवारी सहजै पूरा गर्न सकिने बताए। उनले महिला सदस्यलाई सामाजिक समावेशीकरणको अभिमुखीकरणले वार्षिक बजेट र नीति तथा कार्यक्रम लैङ्गिकमैत्री बनाउन प्रभावकारी हुने धारणा राखे।  

प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले संविधानले अंगीकार गरेको समावेशीकरण अवधारणामा आधारित योजना र बजेट निर्माणका लागि सामाजिक समावेशीकरणसम्बन्धी नीतिगत व्यवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। रासस

प्रकाशित: ३१ वैशाख २०८२ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App