राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रति संसद्मा व्यङ्ग्य कसेका छन्।
मङ्गलबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै शाहीले थापा र शर्माका लाग सरकारका नीति तथा कार्यक्रम 'खाउँ कान्छाबाउको अनुहार, नखाउँ दिनभरीको सिकार' भएको उनले बताए।
'नेपाली कांग्रेसमा दुईजना सशक्त युवा नेता हुनुहुन्छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा। उहाँहरू नीति तथा कार्यक्रममा कहीँ पनि देखिनुहुन्न। यो किन प्रश्न गरिरहेको छु भने संसद्को सबैभन्दा ठूलो दल हो नेपाली कांग्रेस र सरकारमा सहभागी भएको दल पनि हो। सायद उहाँहरूलाई यस्तो लागेजस्तो लाग्यो मलाई- खाउँ भने कान्छाबाउको अनुहार, नखाउँ भने दिनभरीको सिकार,' उनले भने।
शाहीले त्यसैले थापा र शर्मा संसद्मा उपस्थित नै नभएको पनि बताए। 'विरोध गरिहालौँ यहाँ आएको केही पनि छैन, विरोध गरौँ आफ्नै पार्टी सरकारमा छ, के विरोध गर्नु। नगरौँ मन मानेको छैन, बरु संसद् नै छोड्यो, आनन्दै! संसद् कस्तो हुँदैछ भन्ने एउटा सामान्य उदाहरण हो,' उनले थपे।
प्रकाशित: ३० वैशाख २०८२ १५:४२ मंगलबार