१० असार २०८३ बुधबार
image/svg+xml
खेल

पूरा होला ब्राजिलविरुद्ध स्कटल्यान्डको लक्ष्य?

पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा फराकिलो अन्तरको जित निकाल्ने लक्ष्यमा हुनेछ।

समूह ‘सी’ को तेस्रो तथा अन्तिम खेलमा बुधबार राति मियामीमा ब्राजिल र स्कटल्यान्ड आमनेसामने हुँदै छन्। पाँच पटकको विश्वविजेता ब्राजिल आफ्नो समूहको शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने स्कटल्यान्ड विश्वकप इतिहासमा पहिलोपल्ट नकआउट चरण पुग्ने सपना साकार पार्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

दक्षिण अमेरिकी फुटबलको महाशक्ति ब्राजिल विश्वकपको सबैभन्दा सफल राष्ट्र हो। पछिल्ला केही संस्करणमा भने ब्राजिलले राम्रो नतिजा ल्याउन सकिरहेको छैन। यस विश्वकपमा बराबरीबाट सुरु गरेको दक्षिण अमेरिकी टोली जितसहित समूहचरणको अन्त्य गर्ने लक्ष्यमा छ। स्कटल्यान्ड भने विगतका विश्वकप तथा अन्य ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा समूहचरण पार गर्न संघर्ष गर्दै आएको छ। यसपटक भने स्थिति फरक देखिएको छ।

यो टोलीले समूह ‘सी’ मा कम्तीमा तेस्रो स्थान सुनिश्चित गरिसकेको छ। उत्कृष्ट तेस्रो टोलीका रूपमा पनि नकआउट चरणमा पुग्न स्कटल्यान्डलाई सम्भवतः एक अंक नै पर्याप्त हुनेछ। सामान्य अन्तरको हारले समेत उसलाई अघिल्लो चरणको ढोका खोल्न सक्छ। स्कटल्यान्डले पहिलो खेलमा हाइटीलाई १–० ले पराजित गरेको थियो। दोस्रो खेलमा भने मोरक्कोसँग समान अन्तरले पराजित भयो। स्टिभ क्लार्कको टोली विश्वकपको समूहचरणमा दुईभन्दा बढी जित निकाल्ने लक्ष्य पूरा गर्न चाहन्छ। टोलीमा अनुभवको कमी छैन। मोरक्कोविरुद्ध मैदान उत्रिएको स्कटल्यान्डको सुरुआती टोलीका खेलाडीहरूले संयुक्त रूपमा ६०९ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

जुन स्कटिस फुटबल इतिहासकै सबैभन्दा अनुभवी सुरुआती टोली मानिएको छ। तर ब्राजिलविरुद्धको इतिहास भने स्कटल्यान्डको सुखद छैन। विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रहरूसँग खेलेका आठ खेलमध्ये स्कटल्यान्डले जित्न सकेको छैन। दुई खेल बराबरी र ६ खेल हारको नतिजा रहेको छ। तीमध्ये चार खेल ब्राजिलविरुद्ध थिए। ब्राजिल र स्कटल्यान्ड पहिलोपल्ट सन् १९७४ को विश्वकपमा भिडेको इतिहास छ। त्यो खेलमा स्कटल्यान्डले ब्राजिलसँग गोलरहित बराबरी खेल्यो। त्यसपछि भने ब्राजिलले लगातार तीन भेट आफ्नो पक्षमा पारेको छ। सन् १९८२ मा ४–१, १९९० मा १–० र १९९८ मा २–१ को जित निकाल्दै ब्राजिलले आफ्नो प्रभुत्व कायम राख्दै आएको छ।

यस विश्व कपमा ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो। दोस्रो खेलमा हाइटीलाई ३–० ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको ब्राजिल यो लय जारी राख्न चाहन्छ। हैटीविरुद्ध म्याथियस कुन्हाले दुई गोल र भिनिसियस जुनियरले एक गोल गरेका थिए। यसै खेलमा ब्राजिलले विश्वकप इतिहासमा सर्वाधिक कुल (२४१) गोल गर्ने राष्ट्रको कीर्तिमान कायम गर्‍यो तर आइभरी कोस्टविरुद्ध जर्मनीले दुई गोल गर्दै उक्त आँकडा पुनः बराबरी गरेको छ। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले अनुभवलाई प्राथमिकता दिएका छन्।

हाइटीविरुद्ध मैदान उत्रिएको ब्राजिलियन टोलीको औसत उमेर ३० वर्ष १९० दिन थियो। जुन सन् १९६२ को विश्वकप फाइनलयताको सबैभन्दा बढी हो। ब्राजिलको टोलीमा प्रतिभाशाली युवा खेलाडी पनि छन्। फिलाडेल्फियामा भएको खेलमा बेन्चबाट मैदान प्रवेश गरेका रायन र एन्ड्रिक विश्वकपमा ब्राजिलबाट खेल्ने पछिल्लो ५६ वर्षयताका सबैभन्दा कम उमेरका खेलाडी बने।

विश्वकप इतिहासमा ब्राजिलले २० वर्षभन्दा कम उमेरका दुई खेलाडीलाई एउटै खेलमा मैदान उतारेको यो दोस्रो अवसर मात्र हो। यसअघि सन् १९५८ मा जोजे अल्टाफिनी र १७ वर्षीय पेलेले यस्तो उपलब्धि हासिल गरेका थिए। राफिन्हा चोटग्रस्त भएपछि ब्राजिलको आशा भिनिसियस जुनियरमाथि केन्द्रित भएको छ। पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा तीन गोल र तीन असिस्ट गर्दै उनले कुल ६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्।

ब्राजिल फुटबलको गौरवशाली विगतका प्रतीक हुन्, नेइमार। नेइमारले यस खेलमा केही समय मैदानमा बिताउन सक्ने सम्भावना छ। नेइमारले ब्राजिलका लागि आफ्नो पहिलो दुई गोल स्कटल्यान्डविरुद्ध नै गरेका थिए। त्यो घटना भएको करिब १५ वर्ष बितिसकेको छ। स्कटल्यान्डका समर्थकहरूले प्रशिक्षक क्लार्कलाई तीव्र गतिका विङ्गर बेन ग्यानन डोकलाई बढी समय मैदानमा उतार्न आग्रह गरेका छन्। उनले हाइटीविरुद्ध जोन म्याकगिनको गोलमा महत्त्वपूर्ण भूमिका खेलेका थिए तर मोरक्कोविरुद्ध भने सीमित समय मात्र खेल्न पाए। स्कटल्यान्डका लागि लुइस फर्गुसन पनि महत्त्वपूर्ण खेलाडीका रूपमा उदाएका छन्। उनले रक्षात्मक सूचकमा अग्रता लिएका छन्।

यद्यपि उनीसँगै स्कट म्याकेना र आरोन हिकीको फिटनेसलाई लिएर केही चिन्ता रहेको छ। एक तथ्यांकले स्टकल्यान्डसँग ब्राजिललाई स्पष्ट दाबेदार मानेको छ। ब्राजिलको जितको सम्भावना ६८.१ प्रतिशत छ। स्कटल्यान्डको जितको सम्भावना १२.९ प्रतिशत मात्र छ भने बराबरी हुने सम्भावना १९ प्रतिशत आँकिएको छ। इतिहास, अनुभव र व्यक्तिगत प्रतिभाका आधारमा ब्राजिल स्पष्ट दाबेदार हो तर नकआउट चरणको सपना बोकेको स्कटल्यान्डका लागि यो खेल आधुनिक स्कटिस फुटबल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेलमध्ये एक बन्न सक्छ। त्यसैले मियामीमा हुने यो प्रतिस्पर्धा समूहचरणकै सर्वाधिक आकर्षक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।  

प्रकाशित: १० असार २०८३ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App