आइसिसी महिला टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार चौथो जित निकाल्दा पाकिस्तान चौथो खेलसम्म पनि अंकविहीन बनेको छ।
बेलायतको लिड्समा गएराति भएको खेलमा पाकिस्तानलाई ११३ रनले पराजित गर्दै अस्ट्रेलियाले लगातार चौथो जित निकालेको हो। चार खेलबाट ८ अंक बनाएको अस्ट्रेलिया सेमिफाइनल नजिक छ। समूह एकमा रहेको कंगारु टोलीसँगै भारत, साउथ अफ्रिका र बंगलादेशको सेमिफाइनल सम्भावना पनि कायमै छ। २ खेल खेल्न बाँकी उनीहरुको समान चार अंक छ।
अस्ट्रेलियाले दिएको २०० रनको उच्च लक्ष्य पछ्पाएको पाकिस्तान १३.४ ओभरमा ८६ रनमा अलआउट भयो। चार ब्याटर शुन्य रनमा आउट भएको पाकिस्तानको इनिङ्समा मुनीबा अलीले सर्वाधिक ३२ रन बनाइन्।
पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाए १९९ रन बनाएको थियो। उसका लागि एलिस पेरीले ७१ रनको योगदान गरिन्।
विश्वकपअन्तर्गत गएराति नै भएका समूह २ का खेलमा न्युजिल्यान्डले स्कटल्यान्डलाई ६ विकेटले र श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले पराजित गरे।
समूह २ मा इंल्यान्ड र वेस्ट इन्डिजको समान ३ खेलबाट समान ६ अंक छ । चार खेलबाट न्युजिल्यान्ड र श्रीलंकाको समान चार अंक छ भने स्कटल्यान्डको २ अंक हुँदा आयरल्यान्ड अंकविहीन छ।
प्रतियोगितामा बुधबार इंल्यान्ड र वेस्ट इन्डिजबीच खेल हुनेछ।
प्रकाशित: १० असार २०८३ ०९:१८ बुधबार





