चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबरहरू आइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन हुने स्पष्ट पारेको हो।
‘हाम्रो चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि)देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,’ चलचित्र पाँच पाण्डवको निर्माण टिमले विज्ञप्ति जारी गर्दै भनेको छ।
निर्माण टिमले सबै धर्मप्रति उच्च सम्मान रहेको र चलचित्र ‘पाँच पाण्डव’ले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको पनि प्रस्ट पारेको छ।
‘हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो चलचित्रप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास, साथ र सद्भावप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग र मायाको अपेक्षा राख्दछौँ।’
चलचित्रको बुकिङ बुधबारबाट नै खुलिसकेको छ। भोलिबाट प्रदर्शनमा आउने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन्।
‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन्।
उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।चलचित्र ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १३:१८ बिहीबार





