२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालको दुहाई: प्रचण्डबारे विश्वभरि बहस हुँदै थियो, तर सरकार ढाल्दिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कामले विश्वभरि बहस सुरु भएको दाबी गर्दै त्यही बेला सरकार ढलाइदिएको भन्दै गुनासो गरेका छन्। शनिवार पाँचथरको फिदिममा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन्। 

‘..अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको माओवादी केन्द्र र प्रचण्डको बारेमा एउटा ठुलो बहस विश्वभरि सुरु भएको थियो/भइराख्या छ,’ दाहालले भने,‘मैले तपाईँहरूको अगाडि कुनै अहङ्कार गर्न खोजेको होइन। यो यथार्थ हो, इतिहासले यसलाई मूल्याङ्कन गर्नेछ भन्ने मेरो विश्वास छ।’ राम्रो काम गर्न खोज्दाखोज्दै  आफ्नो सरकार ढालेको उनले बताए। ‘यो देशका दलाल पुँजीपतिहरू जो रातारात करोडौँ र अरबौँ कमाउन पल्केका छन् त्यो वर्ग, त्यसका केही व्यक्तिहरूलाई सह्य भएन। त्यस्ता मान्छेलाई पनि सह्य भएन, जो भ्रष्टाचारबाट रातारात करोडौँ कुम्ल्याउने गरेका छन्, त्यस्ता कर्मचारीलाई पनि हाम्रा यी पहलहरू राम्रा लागेनन्,’ उनले भने। 

‘अनि विश्वभरि माओवादीको नेतृत्वमा संसार भरि सकारात्मक काम भएको कुरा पनि बिचौलिया र नोकर साह दलालहरूलाई मन परेन,’ दाहालले गुनासो गरे। 

आफ्नाबारे अन्तर्राष्ट्रिय चर्चा हुन थालेपछि कांग्रेस–एमालेलाई मिलाइदिएको दाहालले दाबी गरे । ‘यो हेर्दा त कांग्रेस र एमालेले मिलेर बनेको सरकार देखिन्छ। सदनभित्र गएर हेर्दा हो पनि,’ उनले भने, ‘नकारात्मक काम उहाँहरूको बुद्धिले गरेको होइन। मैले त नजिकबाट देखेको छु। उहाँहरूलाई दलालहरूले आफ्नो घरमा बोलाएर खरिद गरे। बिचौलियाहरूले आफ्नो घरमा बोलाएर खरिद गरे। दलालहरूले आफ्नो होटेलमा मिटिङ बसाएर उनीहरूलाई मिलाइदिए।’ 

प्रकाशित: २७ वैशाख २०८२ १६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App