कक्षा १२ को परीक्षाफल त्रुटि भएको भन्दै विद्यार्थीहरू सडक आन्दोलनमा उत्रिएपछि विभिन्न विद्यार्थी संगठनहरूको ध्यानाकर्षण भएको छ। विभिन्न ११ वटा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशनमा भएको लापरबाहीले विद्यार्थीको भविष्यसँग खेलवाड भएको बताएका छन्।
संयुक्त वक्तव्यमा संगठनहरूले शिक्षा मन्त्रालयले समयमै नतिजा सार्वजनिक गर्ने प्रयासलाई सकारात्मक रूपमा लिए पनि हतारो र मूल्याङ्कन प्रक्रियामा देखिएका कमजोरीहरू अस्वीकार्य रहेको बताएका छन्।
‘हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफल तथा यसअघि एसईई नतिजामा देखिएका त्रुटिहरूले परीक्षा व्यवस्थापन र मूल्याङ्कन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीको मेहनत र भविष्यसँग जोडिएको विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य हुन सक्दैन।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसैबीच, कक्षा १२ का विद्यार्थीहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै नतिजा प्रकाशन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले शिक्षामन्त्रीको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले ४५ दिनभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्य पूरा गर्न हतारो गर्दा नतिजामा गडबडी भएको भन्दै विरोध गरेका छन्।
प्रकाशित: ११ असार २०८३ १६:३२ बिहीबार

