२९ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

असार १५ मा एक अर्बको दहीको कारोबार हुने अनुमान

असार १५ मा एक अर्बको दहीको कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रममा देशभर करिब ७५ लाख लिटर दही खपत हुने तथा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउँदै धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरे।

उनले धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौंदेखि निरन्तरता दिँदै आएको बताए ।

दाहालका अनुसार नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको छ।

दाहालले असार १५ को अवसरमा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने र यसबाट दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था तथा दुग्ध उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।  

स्वदेशी उत्पादनको उपभोग बढ्दै जाँदा कृषि तथा दुग्ध क्षेत्रको दिगो विकास, किसानको आयवृद्धि र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: ११ असार २०८३ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App