२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

इंल्याण्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्त

इंल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले इंल्याण्ड पुरुष टेस्ट टोलीका मुख्य प्रशिक्षकबाट ब्रेन्डन म्याकुलमलाई बर्खास्त गरेको छ। 

कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको केही समयपछि नै बोर्डले म्याकुलमलाई हटाउने यो कठोर निर्णय लिएको हो। यद्यपि, म्याकुलम इंल्याण्डको सीमित ओभरको (एकदिवसीय र टी-२०) टोलीको मुख्य प्रशिक्षकको रूपमा भने यथावत् रहनेछन्। बोर्डले म्याकुलमको कार्यकालको अन्त्य भएको बताए पनि यो एक प्रकारको बर्खास्ती नै हो।

क्रिकेट विश्लेषक जोनाथन एग्न्यूका अनुसार मैदानभित्रको कमजोर प्रदर्शन र मैदान बाहिर खेलाडीहरूमा देखिएको अनुशासनहीनता यस निर्णयको मुख्य कारण हो। विशेषगरी अष्ट्रेलियामा भएको एशेज शृङ्खलाका क्रममा खेलाडीहरू क्यासिनो भ्रमण र मदिरा सेवनमा संलग्न भएको खबरले टोलीको छविमा नकारात्मक असर पारेको थियो।

आफ्नो बहिर्गमनपछि म्याकुलमले भनेका छन्, ‘मलाई टेस्ट टोलीको प्रशिक्षण दिन मन पर्थ्यो। हामीले सँगै हासिल गरेका उपलब्धिमा म गर्व गर्छु। केही अविश्वसनीय उचाइ र केही कठिन दिनहरू यो यात्राको हिस्सा थिए। म निरन्तरता नपाएकोमा दुखी छु। तर बोर्डको निर्णयको सम्मान गर्छु। मेरो ध्यान अब इगंल्याण्डको सेतो बल (एकदिवसीय र टी-२०) टोलीलाई अगाडि बढाउनमा छ।’

सन् २०२२ मा म्याकुलम र बेन स्टोक्सको जोडीले इगंल्याण्डको टेस्ट टोलीको जिम्मेवारी सम्हाल्दा टोली अत्यन्तै खराब अवस्थामा थियो। उनीहरूले आक्रामक क्रिकेट शैली सुरु गरे, जसलाई ‘बाजबल’ भनियो। सुरुवाती ११ टेस्टमध्ये १० मा जित हात पारेर यो जोडीले सनसनी मच्चाएको थियो। तर, पछिल्ला १२ टेस्टमध्ये आठ खेलमा हार बेहोरेपछि यो दर्शनको प्रभावकारितामाथि प्रश्न उठेको छ।

इंल्याण्ड टोली यतिबेला मुख्य प्रशिक्षक र कप्तान दुवैको खोजीमा छ। आगामी अगस्ट १९ बाट सुरु हुने पाकिस्तान विरुद्धको शृङ्खला अगाडि टोली व्यवस्थापनले नयाँ नेतृत्वको टुंगो लगाउनुपर्ने चुनौती छ। नयाँ प्रशिक्षकको खोजीमा पिटर मूर्स वा अन्य घरेलु प्रशिक्षकहरूको नाम चर्चामा रहे पनि आधिकारिक निर्णय हुन बाँकी छ।

रोबर्ट की भने इंल्याण्डको क्रिकेट निर्देशकको रूपमा पदमै रहनेछन्। इंल्याण्ड क्रिकेटको लागि यसलाई एउटा अध्यायको अन्त्य र नयाँ सुरुवातको मोड मानिएको छ। 

प्रकाशित: २९ असार २०८३ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App