यति बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा हिमालको उचाइ छुने यात्रामा छन्। केही समयअघि लोबुचे हिमाल सफल आरोहण गरेका उनी अहिले सगरमाथा बेसक्याम्पसम्मको यात्रामा निस्केका छन्। यात्राकै क्रममा उनी शुक्रवार साँझ सगरमाथा बेसक्याम्प नजिक पुगेका छन्।
महामन्त्री शर्मा हिमाल यात्रामा निस्किएकै बेला छिमेकी मुलुक भारत र पाकिस्तान युद्धोन्मुख छन्। जम्मुको पहलगाममा भएको आतङ्कवादी हमलापछि बढेको दुई देशबिचको तनाव अहिले सीमा पार आक्रमण–प्रत्याक्रमणसम्म पुगेको छ। हालसम्म दुई देशका सेना आमने–सामने भई नसके पनि एक अर्कामाथि मिसाइल, ड्रोन र हवाई हमला सुरु भइसकेको छ।
भारत–पाकिस्तान युद्धोन्मुख रहँदा त्यसको असर नेपालसम्मै पुग्न थालिसकेको छ। अझ गहिरो प्रभाव दिनप्रतिदिन बढ्दै जाने अनुमान पनि गरिन थालेका छन्।
यही बेला सगरमाथा क्षेत्रमा पुगेका महामन्त्री शर्माले त्यहीबाट नेपाल राष्ट्रको चिन्ता व्यक्त गर्दै एक आह्वान गरेका छन्। यो घडीमा सिङ्गो देश एक ढिक्का हुनुपर्ने पनि उनले भनेका छन्।
‘भारत–पाकिस्तान युद्धले हामीलाई पर्न सक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया र सिङ्गो देश एक ढिक्का उभिन जरुरी छ,’ महामन्त्री शर्माले भनेका छन्,‘सम्माननीय प्रधानमन्त्री ज्युलाई विशेष सार्वजनिक ध्यानाकर्षण साथ सबै दलका सभापति र अध्यक्षलाई बोधार्थ ध्यानाकर्षण !’ सँगै महामन्त्री शर्माले पाँच बुँदामा सुझावसहितको आह्वान पनि थप गरेका छन्।
पहिलो बुँदामा उनले ‘बाह्य लडाइँमा हाम्रो क्षति स्मरण’ भन्दै विदेशमा नेपालीले गुमाएका ज्यानको विवरण उल्लेख गरेका छन्।
‘इराकमा १२ नेपाली श्रमिक एकसाथ मारिए, इजरायलमा १० नेपाली विद्यार्थी ! हमास कब्जाबाट विपिन जोशी फिर्ता भएका छैनन्,’ पहिलो बुँदामा शर्माले लेखेका छन्, ‘रुस–युक्रेन युद्धमा इमानदार स्वीकारोक्ति राख्दा ठ्याक्कै यति नेपालीले ज्यान गुमाए भन्ने तथ्यांक हामीसँग छैन।’ यस्तो स्मरणले यति बेला ‘गम्भीर राष्ट्रिय विमर्श र गम्भीर राष्ट्रिय एकता’ माग गरेको उनले लेखेका छन्।
यस्तै दोस्रो बुँदामा ‘जोखिम क्षेत्रबाट फर्किन सहजीकरण’को विषय उठान गरेका छन्। ‘भारत र पाकिस्तानमा हजारौँ नेपाली अध्ययन, श्रम र व्यवसायमा छन् । हाम्रो पहिलो ध्यान तिनको रक्षामा पुग्नुपर्छ,’ उनले लेखेका छन्, ‘जोखिम क्षेत्रका लागि ‘सूचना र सम्पर्क नेटवर्क’ स्थापित गर्दै काठमाडौं, दिल्ली र इस्लामवादमा सरकारले ‘रेस्क्यु डेस्क’ निर्माण गरोस्।’ जोखिम क्षेत्रबाट घर फर्कन चाहनेलाई आवश्यक सहजीकरण राष्ट्रको प्राथमिक कर्तव्य रहेको महामन्त्री शर्माले स्मरण गराएका छन्।
तेस्रो बुँदामा महामन्त्री शर्माले ‘साझा राष्ट्रिय अभिमत जरुरी’ रहेको भन्दै प्रसङ्ग उठाएका छन्। ‘सरकारले आफ्नो दृष्टिकोण एक हदसम्म सार्वजनिक गरिसकेकै छ। अब जरुरी छ–साझा राष्ट्रिय अभिमत निर्माण,’ उनले लेखेका छन्। जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब सर्वदलीय छलफल बोलाउनु उचित हुने सुझाव महामन्त्री शर्माले दिएका छन्। उनले थप अगाडि लेखेका छन्, ‘हाम्रा बिच अनकन विमति छन्, तर छिमेकीको लडाइँमा हामी विभाजित हुनुहुन्न।’ सरकार विशेष गम्भीर हुनुपर्ने र विपक्षी दलहरू विषयगत संवेदनशीलता दृष्टिगत गरेर सरकारको साथमा उभिनुपर्ने तर्क उनको छ।
यस्तै चौथो बुँदामा महामन्त्री शर्माले नेपालले सार्क अध्यक्षका रूपमा भूमिका लिएर अघि बढ्नुपर्ने विषय उठाएका छन्।
‘आतंकवाद नियन्त्रण, तर युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रूपमा नेपाल देशको क्रियाशीलता समग्र विश्व राजनीतिले महसुस गर्न सक्ने उचाइको हुनुपर्छ,’ उनले भनेका छन्, ‘नेपाल देश र नेपाल सरकारलाई युद्धको दर्शक बन्ने छुट छैन, यो परीक्षामा हाम्रो नेतृत्वले देशलाई उत्तीर्ण गराउन सक्नुपर्छ ।’
पाँचौँ बुँदामा उनले नेपालमा पर्न सक्ने ‘बहु आयामिक असर सामनाको तयारी’को विषय उठाएका छन्। ‘भारत–पाक युद्ध लम्बियो भने हाम्रो आयात, बजार मूल्य, अन्तर्राष्ट्रिय उड्डयन, बाह्य व्यापार, पर्यटक आगमन र समग्र अर्थतन्त्रमा हामीलाई गम्भीर असर पर्न सक्ने देखिन्छ,’ महामन्त्री शर्माले भनेका छन्,‘यस्तो अवस्था सामना गर्न सम्पूर्ण तयारीको क्षमता संघीय, प्रदेश र स्थानीय सरकारहरूले राख्नुपर्दछ।’
प्रकाशित: २६ वैशाख २०८२ १९:५० शुक्रबार