दुई दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीचको जारी तनावबारे प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) विभाजित भएको छ। दुई प्रभावशाली नेताहरू महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माले यसका सन्दर्भमा फरक-फरक अभिव्यक्ति दिएका छन्।
महासचिव गुरुङले पहलगाम आक्रमणको विषयलाई लिएर भारतले पाकिस्तानमाथि गरेको जवाफी कारबाहीको समर्थन गर्न नसकिने बताउँदा उपमहासचिव शर्मा भारतीय कित्तामा उभिएका छन्।
'भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा हवाईमार्फत क्षेप्यास्त्र आक्रमण गरेको छ। यो अत्यन्तै दुखद् विषय हो। भारतले आक्रमणको कारण केही दिनअघि कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणको बदला बताइएको जनसंहारकारी र आतङ्ककारी गतिविधिको विरोध गर्नैपर्छ। तर, पहलगामको उक्त आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको देखिँदैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिँदैन। नेपालले युद्ध होइन, शान्तिको पक्ष लिनैपर्छ। शान्तिको लागि आफ्नो दायित्व निर्वाह गर्नै पर्दछ,' गुरुङले फेसबूकमा लेखेका छन्।
यता शर्माले भने गुरुङको अभिव्यक्तिसँग बाझिनेगरी अभिव्यक्ति दिएका छन्। 'भारतले आतङ्कवादविरुद्ध अपरेशन सिन्दूर सञ्चालन गरेको छ। आतङ्कवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतङ्कवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो,' शर्माले पनि फेसबूकमा लेखेका छन्।

पदाधिकारी तहका दुई नेताले विपरीत धारणा दिँदा माओवादीको आधिकारिक धारणा के हो भन्नेमा थप 'कन्फ्यूजन' बढेको छ। यद्यपि, शर्मा र गुरुङको अभिव्यक्तिलाई व्यक्तिगत ढङ्गले ग्रहण गर्नुपर्ने माओवादीकै नेताहरूले बताइरहेका छन्।
चौथाईवालेसँग भेटेका थिए शर्मा, भेटेनन् गुरुङ
भारतीय सत्तासीन दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख गत वैशाख १७ गते काठमाडौं आएका थिए।
तीन दिन यहीँ रहेका उनले प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेतादेखि अन्य नेताहरूलाई समेत वान् अन वान् भेटेका थिए। त्यस मेसोमा उनले शर्मालाई पनि भेटेका थिए।
के भनिन्छ भने चौथाईवालेले नेताहरूलाई भेट्दा ढिलोचाँडो भारतले पाकिस्तानमाथि जवाफी कारबाही गर्ने र त्यसबेला नेपालले भारतलाई समर्थन गरोस् भन्ने आशयका मौखिक निवेदन गर्थे।

चौथाईवालेले गुरुङलाई भने भेटेनन्। पार्टी महासचिव भए पनि चौथाईवालेले उनलाई खोजेनन्।
तर, संयोग नै मान्नुपर्ला कि; उनले भेटेका शर्मा र उनले नभेटेका गुरुङको अभिव्यक्ति फरक किसिमको आयो।
जे होस्, शर्मा र गुरुङको अभिव्यक्तिलाई माओवादी नेताहरूले नै भनेअनुसार व्यक्तिगत रूपमा नै लिनुपर्ला! तर, जारी भारत-पाकिस्तान तनावबारे माओवादीको धारणा के हो ? यो भने अनुत्तरित नै रहेको छ।
प्रकाशित: २५ वैशाख २०८२ १७:०६ बिहीबार





-600x400.jpg)