२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कर्पोरेट

ज्योति विकास बैंकद्वारा ११ स्वास्थ्य केन्द्रलाई बेबी वार्मर मेसिन सहयोग

ज्योति विकास बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत देशका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रका ११ वटा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ।

बैंकका अनुसार नवजात शिशुको शारीरिक तापक्रम सन्तुलित राखी हाइपोथर्मिया (अल्पताप) को जोखिम कम गर्न सहयोग पुर्‍याउने यी जीवनरक्षक उपकरणहरू आधारभूत स्वास्थ्य सेवा र आवश्यक पूर्वाधारको अभाव रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर वितरण गरिएको हो।

सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच दुर्गम क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको जनाएको छ।

यस आर्थिक वर्ष बैंकले पाँचथरको एकतीन हेल्थ पोस्ट, खोटाङको जनसेवा नगर अस्पताल, अछामको भाटाकाटिया हेल्थ पोस्ट, सङ्खुवासभाको नुम प्राथमिक हेल्थ केयर सेन्टर र सिसुवाखोला हेल्थ पोस्ट, बझाङका कालुखेती तथा मष्टा हेल्थ पोस्ट, बाजुराको पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाल्पाको ज्यामिरे हेल्थ पोस्ट, रोल्पाको लिवाङ हेल्थ पोस्ट तथा मकवानपुरको आमभञ्ज्याङ हेल्थ पोस्टलाई बेबी वार्मर उपलब्ध गराएको छ।

उपकरण हस्तान्तरणसँगै स्वास्थ्य संस्थाका डाक्टर, नर्स तथा सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ।

हालसम्म ७३ स्वास्थ्य संस्थामा बेबी वार्मर

यस परियोजनामार्फत ज्योति विकास बैंकले हालसम्म देशभर ७३ वटा बेबी वार्मर वितरण गरिसकेको छ। बैंकका अनुसार ती उपकरणमार्फत हरेक वर्ष करिब २ हजार ७०० भन्दा बढी नवजात शिशुले प्रत्यक्ष लाभ लिइरहेका छन्।

हालसम्म करिब १३ हजार ५०० भन्दा बढी शिशु यस सेवाबाट लाभान्वित भई जीवन रक्षा तथा स्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुगेको बैंकको दाबी छ।

सामाजिक उत्तरदायित्वमा सक्रिय बैंक

ज्योति विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि उल्लेखनीय रकम विनियोजन गर्दै आएको जनाएको छ। बैंकले ग्राहक, कर्मचारी, सेयरधनी, नियामक निकाय तथा समग्र समाजप्रति उत्तरदायी रहँदै विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरेको छ।

बैंकका अनुसार गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको थियो भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म करिब ६८ करोड रुपैयाँ राजस्वबापत सरकारलाई बुझाइसकेको छ।

हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २७ जेष्ठ २०८३ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App