प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो किड्नी(मृर्गौला) फेल हुनुको कारण कठोर जेल बसाई र पेन किलर रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘मेरो किड्नी किन फेल भयो भन्दाखेरी लापरबाहीले होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘डेढ महिना राखेर सुतेको सुत्यै गर्ने, अनि खाना केही पनि नदिएपछि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ?’
चिसो गोलघरको कठिन बसाई पनि उनले सम्झिए। ‘चिसो गोलघरभित्र बसेको ठाउँमा तलबाट पानी पलाउँछ। अनि स्वास्थ्य कहाँबाट ठिक हुन्छ?,’ प्रधानमन्त्री ओलीले भने।
नेलहतकडी राखेको अवस्थामा शरीरमा घाउ नै घाउ रहेको पनि बताए। उनले भने, ‘धन्न त्यो फलामको नेलबाट घाउमा लागेर टिटानस आदि इत्यादी भएन। शरीरकै कुरा हो।’
दिनको ७५ पैसा सरकारबाट आउने र त्यसबाट सबै आवश्यक सामग्री किन्दा नपुग्ने पनि प्रधानमन्त्री ओलीले बताए। ‘दिनको, दाल किन्नुस्, तरकारी किन्नुस्, मरमसला किन्नुस्, साबुन किन्नुस्, ब्रस किन्नुस्, मञ्जन किन्नुस्। दाँत कसरी सफा हुन्थ्यो, सस्तोमा किनेको ब्रस दुईचार दिनमा उल्टो फर्किन्थ्यो। दाँतै सफा गर्न सकिदैनथ्यो,’ उनले भने।
यसैक्रममा आफूलाई टिबी लागेको पनि प्रधानमन्त्री ओलीले बताए। ‘मलाई ट्युबरक्लोसिस लाग्यो। औषधि छैन, खाना छैन,’ उनले भने, ‘अल्सर भयो, औषधि छैन। अनि कहाँबाट स्वास्थ्य राम्रो हुनु?’
यस्तो बेला दुखाई सहन नसकेर पेन किलर अत्यधिक खानुपर्ने अवस्था आएको पनि उनले सुनाए। ‘दुखेर असैह्य हुन्छ, पेटभरी घाउ भएर, भतभत पोल्छ, रगत आउँछ, अनि पेनकिलर दिन्छ। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?’
यसरी आफ्नो किड्नी फेल हुनुको कारण जेल जीवनमा खानुपरेको पेन किलर रहेको प्रधानमन्त्री ओलीले सम्झिए। उनले भने, ‘पेन किलर खाएको छ, खाएको छ सहनै नसकिने। अहिले मरियो भने पछि के गर्ने? अहिले बाँचिहालौँ भनेर पेनकिलर खाएको।’
प्रकाशित: २५ वैशाख २०८२ १३:०४ बिहीबार





-600x400.jpg)