आज संघीय संसदका चार वटा समितिका बैठक बस्दै छन्। संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो।
जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ः३० बजेबाट सुरु हुने छ। यस बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल हुने भएको छ।
यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। यस बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुने भएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०ः३० बजे बोलाइएको छ। यो बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ।
उता, सार्वजनिक लेखा समितिको बैठकमा भने दुई वटा अजेन्डामा छलफल हुँदै छन्। जसअनुसार सालेसको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा तथा उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा थप निर्णय हुनेछ। यो बैठक बिहान ११ः३० बजेबाट सुरु हुने सचिवालयले जनाएको छ।
प्रकाशित: २१ वैशाख २०८२ ०८:०१ आइतबार





