अहिलेको नेकपा माओवादी केन्द्रले १० वर्षे सशस्त्र संघर्षको विश्राम र मूलधारको राजनीतिमा अवतरणपछि पहिलो चुनाव २०६४ को संविधानसभा निर्वाचनमा लडेको थियो।
त्यो निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल दुई ठाउँबाट निर्वाचित भएका थिए। एक थियो माओवादी विद्रोहको उद्गम थलो, रोल्पा–२ र अर्को राजधानी रहेको जिल्ला काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–१०।
रोल्पाको जित दाहालका लागि स्वाभाविक थियो। जहाँ माओवादीले सशस्त्र विद्रोहको जग खन्यो, जहाँका सबैजसो युवा र जनतालाई विद्रोहको आगोमा दौडायो, विरोधीलाई ‘तह लगाएर’ सफाया गर्यो।
त्यसपछि रोल्पाको ढुंगा–माटो पनि माओवादी थियो। माओवादीमय वातावरणमा माओवादी उम्मेदवार दाहालबाहेक अर्को जित्ने कुरै थिएन।
तर, काठमाडौं–१० मा दाहालको जित धेरैका लागि आश्चर्यचकित पार्ने खालको थियो। जहाँ माओवादीको संगठन थिएन, जहाँका लागि दाहालको मुहार नै अपरिचित थियो, जो सँग दाहालले १० वर्ष बन्दुक उठाएर लडेका थिए, त्यही राज्यका तमाम पात्र–प्रतिनिधिको उपस्थिति रहेको ठाउँमा दाहालले करिस्मयी गरेर जित निकालेका थिए।
त्यही जितले विद्रोही दाहाललाई सत्ताधारी दाहाल बनायो। उनी पहिले जितमै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। दुई ठाउँ जित निकालेकाले एक ठाउँ दाहालले छाड्नुपर्थ्यो। ‘काठमाडौंको माया’ हो वा ‘रोल्पाको रणनीति’! दाहालले रोल्पा छाडे, काठमाडौं रोजे।
यसरी दाहालले रोजेको काठमाडौं–१० ले ६ वर्षपछि दाहाललाई रोजेन। अपरिचित प्रचण्डलाई जिताएको काठमाडौं–१० ले प्रधानमन्त्री भइसकेको परिचित दाहाललाई भने हरायो।
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा दाहाल नेपाली कांग्रेसका उम्मेदवार राजन केसीसँग पराजित भए। त्यो बेला सर्लाही–५ बाट झिनो र विवादित जितसहित उनी संविधानसभा प्रवेश गरेका थिए।
१८ वर्षपछि माफी
१८ वर्षअघि दाहाललाई चुनावी जितको स्वाद चखाएको काठमाडौं–१० मा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका १० वडा पर्दछन्।
शनिवार माओवादी केन्द्रको दक्षिणकाली नगर सम्मेलनमा दाहाल सहभागी भए। १८ वर्षअघि आफै परिश्रम गरेर जिताएका दाहाललाई नगर सम्मेलनमा उतार्न स्थानीय नेताहरूलाई हम्मे हम्मे पर्यो। जुन कुरा दाहालले आफै भाषणमा स्वीकारे।

झन्डै २१ मिनेट दाहालको भाषणको सुरुवातमा उनी केही भावुक र केही ग्लानीबोधमा सुनिए। तर, त्यसको दोष पनि अरूलाई थापरेर आफू पन्छिए।
‘आज यहाँ आउँदै गर्दा आयोजकले झन्डै झन्डै दक्षिणकालीको यो मुख्य सहर परिक्रमा गराउनुभयो। समयको त निकै दबाब थियो। नगर परिक्रमा गर्दा गर्दै नै मैले यहाँ दिने भनेको समय सकिइसकेको थियो,’ दाहालले भने, ‘तर पनि तपाईँहरूको उत्साह, उमङ्ग, तपाईँहरूको स्पिरिटलाई देखेर मैले उताको कार्यक्रमलाई अलिकति पर धकेलेर पनि यहाँ सहभागी भएँ।’

आफूलाई सम्मेलनमा सहभागी नेताकार्यकर्ताको सक्रियता र उत्साह देखेर ०६४ को याद आएको बताए। उनले भने, ‘२०६४ मा म यसै क्षेत्रको प्रतिनिधिको हैसियतमा निर्वाचित हुँदै गर्दा यो क्षेत्रको जनतामा जुन उत्साह त्यति बेला देखिएको थियो। आज म फेरि ०८२ मा आएर मैले त्यही ०६४ तिर फर्किन खोजेको दक्षिणकाली भनेर देखेको छु।’
त्यति बेला आफू ०६४ मा निर्वाचित हुँदै गर्दा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा आफूले दक्षिणकालीका मतदातासँग गरेका बाचा पनि सम्झिए। ‘यहाँका मतदाता, यहाँका जनतासँग भनेको थिएँ, ९ महिनामा नै मैले सरकार छोड्नुपर्ला भन्ने थिएन। लागेको पनि थिएन। तर अनेक प्रपञ्चहरू भए र मैले यस क्षेत्रका जनताका लागि जति काम गर्ने सपना देखेको थिएँ र मैले योजना बनाएको थिएँ मैले ती सबै काम पूरा गर्न पाइनँ,’ दाहालले भने।
त्यसपछि जनतासँग केही क्षमा पनि मागे। ‘एक अर्थमा जनतासँग क्षमा प्रार्थी छु,’ उनले भने, ‘नौ महिनामा नै छोड्नुपर्यो। पाँच वर्ष म रहन पाएको भए भनेर बनाएका योजनाहरू लागु हुन सकेनन्।’
त्यति बेला निर्वाचनमा विजय हासिल गर्दै गर्दा देशै भरी देशकै एक नम्बर पार्टी बन्दै गर्दा संगठनको बलमा नभई आन्दोलन र क्रान्तिका बलमा निर्वाचन जितेको बताए।
त्यहाँ उनले माओवादीका पुराना कार्यकर्ता सञ्जय लामा शङ्कर दुलाल दिलीप महर्जन लगायतका कार्यकर्तालाई सम्झिए।
कार्यकर्ताले नै भने–१० वर्षपछि आउनुभयो
कार्यक्रममा बस्दै गर्दा स्थानीय नेताले नै आफूलाई १० वर्षपछि त्यहाँ पुगेको सम्झाएको पनि दाहालले भन्न भ्याए। ‘अघि यहाँ बस्दै गर्दा सञ्जयले भन्नुभयो–१० वर्षपछि यहाँ आउनुभयो दक्षिणकाली तपाईँ,’ उनले स्वीकार गर्दै भने, ‘१० वर्ष अगाडि म नगर सभाको एउटा कार्यक्रममा आएको थिएँ। त्यसपछि कुनै औपचारिक कार्यक्रममा सहभागी हुने मलाई कुनै मौका जुरेको थिएन।’

यस पटकको नगर सम्मेलनमा पनि नेताहरूको सबै टिम गएर आउन निम्ता दिएको पनि दाहालले बताए। ‘मलाई १२ गतेको कार्यक्रममा आउन भन्नुभएको थियो। अहिले पनि तराई मधेस अभियान र आफ्नै निर्वाचन क्षेत्र गोरखामा कार्यक्रम थिए। अरूलाई ल्याउनुस् भनेको अध्यक्ष नै आउनुपर्छ भनेपछि आज कार्यक्रम मिल्यो,’ दाहालले भने। अहिले दक्षिणकालीका कार्यकर्तालाई भेटेर खुसी लागेको दाहालले बताए।
झन्डै २१ मिनेट भाषण दिएर उनी त्यहाँबाट बौद्धको अर्को कार्यक्रममा निस्किए।
काठमाडौंको मोहभंग, चुनाव लड्न सधैँको दौडाहा
०७० को संविधानसभा निर्वाचनमा दाहालले रोल्पा छाडिसकेका थिए। काठमाडौं–१० र सिरहा–५मा चुनाव लडे। काठमाडौं–१० मा पराजित भए, सिरहामा विवादित जित हात लाग्यो।
त्यसपछि भने दाहालले काठमाडौं–१० मा फेरि फर्केर लड्न गएनन्। उता सिरहा–५ मा जोखिम देखेपछि आफ्नै गृह जिल्ला चितवन पुगे।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सहायतामा चितवन–३ बाट निर्वाचित दाहाल ०७९ को निर्वाचनमा भने फेरि त्यही क्षेत्र लड्ने आँट गर्न सकेनन्। पछिल्लो समय गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य छन्।
तस्बिरहरू मिनकुमार सिवाकोटीको फेसबुकबाट साभार
प्रकाशित: २० वैशाख २०८२ १५:१३ शनिबार





