नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रियसभा सदस्य वामदेव गौतमसँग भेटघाट गरेका छन्। थापाले आज शनिबार बिहानै वामदेवको भैंसेपाटीस्थित निवासमा पुगेर भेटघाट गरेका हुन्।
थापाले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै भेटघाट महत्वपूर्ण भएको जानकारी दिए। उनले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा आफूहरूले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको समेत जिकिर गरेका छन्।
थापाले लेखेका छन्, 'वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ। मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो- जाग्दो नै रहेको छ।हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौं।'
भेटको तस्बिर सार्वजनिक भएपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सँगै बसेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका दूतका रूपमा थापा एकाबिहानै वामदेव भेट्न उनकै निवासमा पुगेको चर्चा चलेको छ।
शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद्को संयुक्त बैठकमा नेपाल र गौतम सँगै बसेका थिए। एकीकृत समाजवादीका सांसदहरू बसेकै लहरमा गौतम बसेका थिए।
प्रकाशित: २० वैशाख २०८२ ०८:२७ शनिबार





