प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको बलिदान र रगतले रङ्गिएको रातो झण्डालाई कहिल्यै नछोड्ने उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बिहीबार राजधानीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उनले मजदुर आन्दोलनको ऐतिहासिक बलिदान र संघर्षको गाथालाई स्मरण गरे।
“हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन। शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा मजदुरहरूले गोली खाएर ढल्दा सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो। बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन्। हाम्रो देशको झण्डामा पनि रातो रंग छ। हामी यो संघर्षको गाथा झल्काउने झण्डा कहिल्यै छोड्दैनौं,” नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले भने।
प्रधानमन्त्री ओलीले रगत र पसिनाले ल्याएको लोकतान्त्रिक प्रणालीमाथि राजावादी शक्तिहरूले अराजक र असहिष्णु गतिविधिमार्फत चुनौती दिइरहेको उल्लेख गरे।
उनले गत चैत १५ को तीनकुनेको हिंसात्मक घटनालाई स्मरण गराउँदै राजावादीहरूको दानवीय प्रवृत्ति सत्तामा पुगे झनै खतरनाक हुने चेतावनी दिए। “सत्तामा नहुँदा यति उग्र छन् भने सत्तामा पुगे यी दानवहरूले के गर्लान् ? प्रहरीमाथि गाडीले किच्ने प्रयास गर्छन्। यस्ता शक्तिलाई जवाफ दिन मजदुर वर्ग एकजुट हुनुपर्छ,” उनले भने।
उनले राजावादीहरूले आफूलाई मन नपर्ने कलाकार, गीत वा फिल्म बहिष्कार गर्ने असहिष्णु व्यवहारको निन्दा गर्दै यस्ता शक्तिहरूले सभ्यता र संस्कृतिमाथि चुनौती दिएको बताए।
“हामी सुनौलो भविष्य बोकेर हिँडेका छौं। मजदुरहरूको योगदानबाट प्राप्त लोकतन्त्रलाई कसैले कमजोर बनाउन सक्दैन,” ओलीले जोड दिए। उनले विश्वभरका श्रमजीवी वर्गप्रति ऐक्यबद्धता जनाउँदै मजदुर आन्दोलनको ऐतिहासिक महत्त्वबारे चर्चा गरे।
प्रकाशित: १८ वैशाख २०८२ १७:०९ बिहीबार





