बुधबार (हिजो) जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकता घोषणाका लागि तम्तयार थिए। घोषणा गर्न मात्रै बाँकी थियो, घोषणास्थल (नेपाल प्रज्ञा प्रतिष्ठान) सजिसजाउ थियो। दुबै पार्टीका नेताहरू प्रज्ञा प्रतिष्ठान पुग्दै थिए।
यही क्रममा नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पनि पुगे। तर, उनी तत्कालै पक्राउ परे। सादा पोशाकमा खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ पुर्जी थमायो, लगत्तै पक्राउ गर्यो।
अरु नेता तथा कार्यकर्ता तीनछक्क परे। उनीहरूसँग नाराबाजी गर्नु सिवाय अरु उपाय थिएन।केहीबेर नाराबाजी गरे, चौधरी प्रहरीको गाडी चढेर हिँडे। नेता-कार्यकर्तालाई पत्तै भएन, चौधरी किन पक्राउ परे!
कारण पछि मात्रै खुल्यो, सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले प्रहरीलाई अनधिकृत पत्र पठाएका रहेछन्। प्रहरीले उक्त पत्रको कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरेको रहेछ। तर, चौधरी पक्राउ मात्रै के परेका थिए, सर्वोच्च अदालत र प्रहरी प्रधान कार्यालयमा कोकोहोला मच्चियो।
चौधरी पक्राउ गर्नु भनी पठाइएको पत्रमा विष्टकै हस्ताक्षर थियो। सोझै उनै दोषी देखिए। र, उनी पक्राउ परे। त्यसबेला यता चौधरी छुट्दै थिए। त्यसअगावै सर्वोच्च अदालतले प्रहरीलाई अर्को आधिकारिक पत्र लेखिसकेको थियो। उक्त पत्रको कार्यान्वयन गर्दै प्रहरीले चौधरीलाई छाड्यो।
तर, हिजोकै लागि घोषित जनमत-नागरिक उन्मुक्ति पार्टी एकता घोषणा कार्यक्रम भने अनिश्चित बन्यो। एकता हेर्न पुगेका नेता-कार्यकर्ता निराश भएर फर्किए।
कहिले हुन्छ एकता घोषणा ?
अहिलेसम्म एकता घोषणाको अर्को मिति तोकिएको छैन। हिजो चौधरी कैदमुक्त भएपछि दुबै पार्टीका नेताहरू मध्यबानेश्वरको सनराइज क्याफेमा भेटेका थिए। तर, त्यहाँ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त भने पुगेनन्। पूर्वनिर्धारित कार्यक्रममा पुग्नुपरेकाले उनी त्यहाँ पुगेनन्।
यसपछि झन् एकता घोषणा अनिश्चित बन्यो। तर, अबको तीन दिनभित्र एकता घोषणा हने नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित बताउँछन्। 'अबको तीनभित्र एकता भइसक्छ,' उनले भने, 'म्याक्सिमम एक हप्ता हो। एक हप्ता लाग्दैन, बढीमा ३ दिनभित्र हुन्छ।'
हिजो कारणवश मात्रै रोकिनुपरेको उल्लेख गर्दै प्रवक्ता पण्डितले सबै टुङ्गिसकेको बताए। 'सबै विषय टुङ्गिसकेका छन्। यसो हुँदा अब नेताहरूको समय हेरेर एकता कार्यक्रम घोषणा गर्छौँ र एकता हुन्छौँ,' उनले भने।
जनमतका प्रवक्ता डा. शरदसिंह यादव पनि अब चाँडै एकता घोषणा हुने बताउँछन्। त्यसका लागि दुबै पार्टी तयारी अवस्थामै रहेको उल्लेख गर्दै उनले भने, 'अब चाँडै भइहाल्छ। त्यसमा अल्झिनुपर्ने कारण नै छैन। गर्छौँ चाँडै।'
चौधरी-राउतबीच निरन्तर संवाद
जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
उनीहरूका बीचमा कतिपय कुराहरू टुङ्गिन बाँकी रहेको बताइन्छ। चौधरी 'प्याकेज'मै घोषणा गरेर जानुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम,नेतृत्व, झण्डालगायत मात्रै घोषणा गरेर जानुपर्ने अडानमा छन्। यसमा उनीहरूबीच सहमति भइसकेको छैन।
यसअघि गत मङ्गलबार राति १२ बजेसम्म उनीहरूबीच संवाद भएको थियो। तर, यस विषयमा कुरा मिलेको थिएन। चौधरीले 'उधारो एकता गरिन्न' भनेका छन्। स्रोतका अनुसार मङ्गलबार राति १२ बजे उनीहरू बिना सहमति उठेका छन्।
अब फेरि पनि उनीहरूबीच संवाद हुने नेताहरूले बताएका छन्। तर, यो विषय एकता घोषणा नै रोक्नेखाले भने नभएको बताइएको छ।
प्रकाशित: १८ वैशाख २०८२ १३:०० बिहीबार





