३ असार २०८३ बुधबार
image/svg+xml
समाज

सासुमाथि ज्वाईंले गरे चक्कु प्रहार

पोखरामा ज्वाईंले सासुमाथि चक्कु प्रहार गरेका छन्। लमजुङको मध्यनेपाल नगरपालिका–२ स्थायी घर भएका ४३ वर्षीय ध्रुवराज अधिकारीले सासुआमा ४७ वर्षीया मुना तिवारीमाथि चक्कु प्रहार गरेका हुन्। 

उनले पोखरा–१७ विरौटास्थित राममन्दिर नजिक बुधबार अपराह्न ४ः११ बजे सासुमाथि अन्धधुन्ध चक्कु प्रहार गरेका थिए। ज्वाईंको चक्कु प्रहारबाट तिवारीको पेट, ढाड र छातीमा गम्भीर चोट लागेको छ।

चक्कु प्रहारबाट घाईते भएकी तिवारीलाई तत्काल उद्धार गरेर स्थानिय नोभल अस्पताल पु¥याइएको थियो। उनको उपचार जारी रहेको कास्की प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उद्धार गरेर नोभल अस्पताल पठायौं,उनले भने,‘उपचार जारी र अवस्था मध्यम छ।’

चक्कु प्रहार गर्ने अधिकारीलाई स्थानीयले तत्कालै नियन्त्रणमा लिएका थिए। उनको साथबाट चक्कुसमेत बरामद भएको डिएसपी पासवानले जानकारी दिए। लेनदेन विवादलाई लिएर अधिकारीले सासु तिवारीलाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ‘आर्थिक लेनदेनको विवाद रहेछ, थप अनुसन्धान भइरहेको छ’–उनले भने।

पक्राउ परेका अधिकारीलाई हाल वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। उनलाई बिहीबार जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरेपछि मात्रै थप अनुसन्धान शुरु हुने डिएसपी पासवानले जानकारी दिए।

प्रकाशित: ३ असार २०८३ १९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App