जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच बुधबार (आज) राति ९ बजे 'डिनर मिटिङ' हुँदैछ।
उनीहरूबीच काठमाडौंमै राति ९ बजे छलफल हुने जनमत पार्टीका एक नेताले बताए। उनीहरू आजै पार्टी एकता घोषणा गर्न तम्सिएका थिए। तर, चौधरी आफैँ पक्राउ परेपछि एकता घोषणा स्थगन भयो।
चौधरी पाँच घण्टापछि छुटिसकेका छन्। चौधरी छुटिसकेपछि दुबै पार्टीका नेताहरू मध्यबानेश्वरको सनराइज क्याफेमा जम्मा भएका थिए। त्यहीँबाट राउत-चौधरीबीच राति ९ बजे छलफल हुने कार्यक्रम तय भएको हो।
उनीहरूबीच पार्टी एकताबारे कतिपय कुराहरू टुङ्गिन बाँकी छ। चौधरी 'प्याकेज'मै एकता हुनुपर्ने पक्षमा छन् भने राउत अहिलेका लागि नाम, अध्यक्ष, सहअध्यक्षलगायत मात्रै तोकेर अगाडि बढ्नुपर्ने अडानमा छन्।
यी विषय पनि आफैँ टुङ्गिने बताइएको छ। यसअघि उनीहरूबीच बुधबार (हिजो) पनि राति १२ बजेसम्म छलफल भएको थियो।
प्रकाशित: १७ वैशाख २०८२ १९:०४ बुधबार





