३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

एकताबारे राउत र चौधरीबीच कुरा मिलेकै थिएन !

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा हुने मिति वैशाख १७ अर्थात् आज तोकिएको थियो। यो मिति एक हप्ताअगावै तोकिएको थियो।

जनमत अध्यक्ष राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीबीच सहमति भएपछि नै वैशाख १७ लाई एकता मिति तोकिएको थियो। तर, एकताका कतिपय विषयमा भने उनीहरूबीच कुरा मिलेकै थिएन।

चौधरी 'प्याकेज' मै घोषणा गरेर अगाडि बढ्नुपर्ने पक्षमा थिए भने राउत अहिलेका लागि पार्टीको नाम, पार्टी संरक्षक, अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा गरेर अगाडि बढ्नुपर्ने अडानमा थिए।

यसमा कुरा आजसम्म पनि मिलेको छैन। बुधबार (हिजो) राति १२ बजेसम्म उनीहरू आपसमा गफिएका थिए तर, पनि कुरा मिलेको थिएन। स्रोतका अनुसार गएराति उनीहरू कुरा नमिलीकनै उठेका थिए।

उठ्नुपूर्व चौधरीले 'उधारो एकता गरिन्न' भनेर भनेका थिए। त्यसमा राउतले ठोस जवाफ दिएका थिएनन्। 'उहाँहरूबीच ठोस सहमति भएको थिएन,' स्रोतले भन्यो, 'अहिले पनि उहाँहरू आ-आफ्नै बुझाइमै हुनुहुन्छ। कतिपय विषयमा कुरा मिलेको छैन।'

यसबारे नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितसँग बुझ्दा उनले पनि 'हो'को सङ्केत गरे। तर, एकतामा भने कुनै असर नभएको उनले बताए। 'कतिपय कुराहरूमा उहाँहरूका आ-आफ्नै भनाइ र बुझाइ थिए तर, त्यसका कारणले एकता प्रक्रियामै बाधा पर्ने कुराचाहिँ थिएन,' उनले भने।

यद्यपि पनि एकताका लागि सम्पूर्ण तयारी पूरा भएको थियो। कार्यक्रम स्थल नेपाल प्रज्ञा प्रतिष्ठानलाई सजाइसकिएको थियो। त्यहाँ पुगेका चौधरीलाई सादा पोशाकमा खटिएको प्रहरीको टोलीले आज मात्रै पक्राउ गरेको छ। अहिले उनलाई डिल्लीबजार कारागारमा बुझाइसकिएको छ। चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगन भएको छ। 

प्रकाशित: १७ वैशाख २०८२ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App