२९ असार २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

खोटाङको साकेला गाउँपालिका यसवर्ष पूर्णखोप सुनिश्चित घोषित

साकेला गाउँपालिका यस वर्ष ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना’ स्थानीय तह घोषित भएको छ। गाउँपालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरिसकेको पुष्टि भएसँगै साकेलालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो।

बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा स्वस्थ समाज निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै साकेला गाउँपालिका बुधबार पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो। गाउँपालिकाभित्र जन्मेका १५ महिनासम्मका १२१ जना बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सबै प्रकारका नियमित खोप उपलब्ध गराएको पुष्टि भएपछि पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको अध्यक्ष रविप्रकाश राईले बताए।

उनका अनुसार १५ महिनासम्मका २७३ जना बालबालिकाले पूर्णखोप पाइसकेको तथ्य पुष्टि भएसँगै मानेभञ्ज्याङस्थित गाउँसभा हलमा आयोजित औपचारिक कार्यक्रममा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो। 

घोषणासभामा गाउँपालिका खोप समन्वय समिति अध्यक्षसमेत रहेका अध्यक्ष राईले एउटा आधारभूत अस्पताल, तीन स्वास्थ्यचौकी, एक आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्वास्थ्य एकाइलाई यो अवस्थासम्म आइपुग्न योगदान गरेको भन्दै प्रशंसापत्र प्रदान गरे। उनका अनुसार सरकारले जन्मेदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेला, जापानिज इन्सेफ्लाइटिसलगायत १४ प्रकारका रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराउने व्यवस्था गरेको छ। तोकिएकै समयभित्र सबै खोप दिइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषित गरिएको हो।

पूर्णखोप घोषणा गर्दै प्रमुख अतिथि सनबहादुर राईले बालबालिकालाई दिइने खोप अभियान केवल स्वास्थ्य कार्यक्रम मात्र नभई भविष्यका नागरिकको सुरक्षित जीवनसँग जोडिएको राष्ट्रिय अभियान भएको बताए। पूर्णखोप सुनिश्चित घोषणा गर्नु मात्र अन्तिम उपलब्धि नभई यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउँदै उनले त्यसका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

स्थानीय तह हुँदै जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले खोप अभियानले बालबालिकाको स्वास्थ्य सुनिश्चित गर्ने भएकाले भविष्यमा स्वस्थ नागरिक निर्माण हुने र त्यसले समाज तथा देशलाई समृद्ध बनाउने अपेक्षा गरिएको बताए। प्रत्येक बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यले सबै स्थानीय तहबीच अझ सुदृढ समन्वय हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए। खोप कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

गाउँपालिका अध्यक्ष राईले साकेला सरकार सबै जाति, धर्म, भाषा, संस्कृति, भूगोल वा राजनीतिक आस्थाका आधारमा कुनै विभेद नगरी समान न्याय वितरण गर्दै आएको बताए। उनले गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकलाई समान व्यवहार र समान अवसर प्रदान गर्ने आफ्नो लक्ष्यमा साथ दिने जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा नागरिक समाजप्रति आभार व्यक्त गरे।

साकेलाले आवश्यकता र प्राथमिकताका आधारमा विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले सबै नागरिकको साझा सरकार हो भन्ने अनुभूति गराउने गरी कुनै पनि नागरिक विभेदमा नपर्ने वातावरणमा समान अवसर र न्याय वितरण गर्दै आएको बताए।

देशको वर्तमान आर्थिक अवस्थालाई सबल बनाउन तीनै तहका सरकारले नयाँ सोच र नयाँ विकल्पसहित अघि बढ्नुपर्ने सुझाव पनि उनले दिए। देशको अर्थतन्त्र बलियो भयो भने मात्र विकासले गति लिने बताउँदै उनले देश समृद्ध भए मात्र नागरिकका सपना पूरा गर्न सकिने र त्यसका लागि सबैभन्दा पहिले शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताए।

कार्यक्रममा उपाध्यक्ष बिर्सिका राईले पूर्णखोप सुनिश्चितता घोषणा सामूहिक जिम्मेवारी, समर्पण र सहकार्यको परिणाम भएको बताइन्। प्रत्येक बालबालिकाले जीवनरक्षक खोप प्राप्त गर्नु उनीहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले आज प्राप्त उपलब्धिलाई निरन्तर कायम राखेर कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन दिगोपना अभियान कायम राख्नुपर्ने बताइन्।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकहरूको सक्रिय योगदानकै कारण गाउँपालिकाले यो सफलता हासिल गरेको बताउँदै उपाध्यक्ष राईले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, पोषण सुधार तथा मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा सहभागी वक्ताहरूले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता नभई हरेक बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै पक्षले निरन्तर जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: ३ असार २०८३ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App