२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

‘राजसंस्था पक्षधर एकजुट भए हप्ता वा महिनाभित्रै लक्ष्य हासिल गर्छाैं’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि सबै राजसंस्था पक्षधर शक्तिहरूलाई एकजुट भएर आन्दोलनमा उत्रन आह्वान गरेका छन्।

व्यक्तिगत स्वार्थ त्यागेर एजेन्डामा केन्द्रित भई एकताबद्ध भएमा केही हप्ता वा महिनाभित्रै लक्ष्य हासिल गर्न सकिने उनको दाबी छ।

सोमबार काठमाडौंको शान्तिवाटीकामा राप्रपा नेपालले आयोजना गरेको प्रदर्शन र सभालाई सम्बोधन गर्दै थापाले गणतन्त्र पक्षधरहरूको असफलताले राजसंस्थाको पक्षमा जनमत बढिरहेको बताए।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै एकताको आवश्यकता रहेको उल्लेख गरे। ‘यो अनुकूल अवसरमा एकजुट हुन नसके इतिहासले सराप्नेछ,’ उनले भने।

कार्यक्रममा राप्रपाका अध्यक्ष लिङदेन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीलगायत सहभागी थिए।

थापाले सुवेदीले संयोजनको भूमिका निर्वाह गर्न अग्रसर भएको भन्दै सबैलाई एकताबद्ध हुन अपिल गरे।

थापाले सरकारमाथि राजसंस्था पक्षधरहरूलाई दमन गरेको आरोप लगाए। ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शनको अधिकार संविधानले दिएको छ, तर सरकारले झूठा मुद्दा लगाएर कार्यकर्तालाई थुन्ने र कार्यक्रम गर्न अवरोध गर्ने हतकण्डा अपनाइरहेको छ,’ उनले भने।

उनले गणतन्त्र पक्षधरहरूले राज्यशक्तिको दुरुपयोग र भ्रष्टाचारबाट आर्जित सम्पत्ति प्रयोग गरी राजसंस्थालाई कमजोर बनाउन खोजेको जिकिर गरे।

थापाले सरकारले दमनकारी कानुन बनाएर प्रदर्शनको अधिकार कुण्ठित गर्न खोजे देशमा आन्दोलनको आगो बल्ने र त्यसले गणतन्त्रवादी नेतालाई नै जलाउने चेतावनी दिए।

प्रकाशित: १५ वैशाख २०८२ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App