१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

डा. राउतलाई प्रश्न: तपाईंलाई मधेसको केपी ओली भन्छन् नि ?

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा अनुशासन कायम राख्न कारबाही गर्ने गरेको बताएका छन्।

साना पार्टीहरूमा अनुशासनहीनता र अवसरवादी प्रवृत्ति चुनौती रहेको उल्लेख गर्दै उनले पार्टीको निर्देशन पालना गर्नुपर्ने बाध्यकारी कानुन बनाउनुपर्नेमा जोड दिए।

बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको प्रश्न “तपाईंलाई मधेसको केपी ओली भन्छन् नि?” भन्ने प्रश्नको जवाफमा डा. राउतले यस्तो बताएका हुन्।

उनले ठूला पार्टीहरू जस्तै कांग्रेस र एमालेमा अनुशासित कार्यकर्ता हुने तर साना पार्टीहरूमा टिकट नपाए अर्को पार्टीमा जाने प्रवृत्तिले अनुशासन भंग हुने गरेको विश्लेषण गरे।

“ठूला पार्टीमा कार्यकर्ताले १० वर्ष संघर्ष गरेर महाधिवेशन प्रतिनिधि बन्छन्, त्यसैले अनुशासित हुन्छन्। तर साना पार्टीमा टिकट नपाए अर्कोमा जाने प्रवृत्ति छ,” उनले भने “उदाहरणका लागि, कसैलाई वडाध्यक्षको टिकट दियो भने उसले पार्टीलाई बेवास्ता गर्छ, तर गल्ती गर्दा जनमत पार्टी बदनाम हुन्छ।”

डा. राउतले पार्टीमा बस्नेले अनुशासन पालना गर्नैपर्ने र नगर्नेलाई कारबाही गरिने स्पष्ट पारे। “पार्टी मन पर्दैन भने बाहिर जानुस्, तर बसेपछि अनुशासन मान्नैपर्छ,” उनले भने।

उनले सरकारलाई समेत निर्वाचित जनप्रतिनिधिलाई पार्टी निर्देशनमा राख्ने बाध्यकारी कानुन बनाउन सुझाव दिए।

प्रकाशित: १० वैशाख २०८२ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App