राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गतेदेखि तय भएको सामूहिक गिरफ्तारी कार्यक्रम तत्कालका लागि स्थगित भएको घोषणा गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत जारी सूचनामा उनले धार्मिक अभियन्ताहरूको प्रतिबद्धता सभा प्रभावित हुने भएकाले यो निर्णय लिइएको उल्लेख गरे।
गुरुङले आफूले कार्यवाहक संयोजकको जिम्मेवारी सम्हालेपछि विभिन्न दल र समूहका शीर्ष नेताहरू तथा युवाहरूको संयुक्त प्रतिबद्धता सभा आयोजना गरेको सुनाए।
“वैशाख १३ गते शनिबार महिला प्रतिबद्धता सभा हुँदैछ। वैशाख २० गते गोरखा भ्रमणपछि वैशाखमै साधु, सन्त, महन्त र धार्मिक अभियन्ताहरूको प्रतिबद्धता सभा गर्ने योजना छ। सामूहिक गिरफ्तारीले यो सभा बिथोलिन सक्ने भएकाले कार्यक्रम स्थगित गरिएको हो,” उनले भनेका छन्।
उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई सशक्त बनाउन विभिन्न समूहलाई एकताबद्ध गर्ने प्रयासमा जोड दिइरहेको उल्लेख गरे। सामूहिक गिरफ्तारी कार्यक्रम स्थगित भए पनि अन्य सभाहरू निर्धारित समयमै हुने उनको भनाइ छ।
यसअघि चैत २७ गते पत्रकार सम्मेलन गरी उनले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका थिए।
प्रकाशित: ९ वैशाख २०८२ १८:५५ मंगलबार





