संसद्को लेखा समिति सभापतिसमेत रहेका नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलले शिक्षकहरूलाई तत्काल विद्यालय फर्किन आग्रह गरेका छन्।
'शिक्षक साथीहरू तत्काल कार्यस्थल विद्यालय फर्किनु बुद्धिमानी हुनेछ,' उनले भनेका छन्।
अगाडि उनले भनेका छन्, 'सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामती ऐन ल्याउन अनिवार्य छ। सरकार, शिक्षक, अभिभावक, शैक्षिक वातावरण समयानुकूल बदल्न चाहन्छन् र यो अवसर पनि हो। आन्दोलनकारी शिक्षक साथीहरूले पनि सरकारको प्रतिबद्धतालाई विश्वास गर्नु आवश्यक छ।'
त्यसका लागि निश्चित समयको अल्टिमेटम दिएर शिक्षकहरू विद्यालय फर्किनुपर्ने भनाइ पोखरेलको छ।
'सरकारले शिक्षकहरूको मागमा संवेदनशीलताका साथ राज्यको क्षमताका आधारमा सम्बोधन गर्नु अनिवार्य छ। कानून निर्माण एक जटिल प्रकृया हो, समय लाग्छ। सरकाले चाहेर पनि प्रकृया मिच्न सक्दैन। कानूनबेगरको सम्झौता फेरि इतिहास मात्र हुनसक्छ। यतिको विषय शिक्षक साथीहरू सबैले बुझ्नुभएकै छ। यो एउटा समाधान हुन सक्छ,' उनले भनेका छन्।
गत २०८१ चैत २० गतेयता निरन्तर आन्दोलनमा रहेका शिक्षकहरूले शिक्षा ऐन नलिइ नफर्किने अडान कसेका छन्।
प्रकाशित: ७ वैशाख २०८२ २१:२५ आइतबार





