कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै छिट्टै निर्वाचन आचारसंहिता लागू गरिने बताएका छन्।
उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचनका सबै पक्षलाई नियमको परिधिभित्र राख्न आचारसंहिता बाध्यकारी हुने बताए।
यसपटकको आचारसंहिता अघिल्ला निर्वाचनको तुलनामा केही कडाइका साथ लागू गरिने पनि उनले स्पष्ट पारेका छन्। कार्यवाहक आयुक्त भण्डारीका अनुसार आचारसंहिता सम्बन्धमा विभिन्न सरोकारवालाबाट सुझाव संकलन भइरहेको छ। ती सुझावको अध्ययनपछि एक–दुई दिनभित्रै आयोगले निर्णय गरी आचारसंहिता कुन मितिदेखि लागू गर्ने भन्ने विषय टुंगो लगाउने उनको भनाइ रहेको छ।
साथै निर्वाचनका क्रममा देखिन सक्ने सम्भावित चुनौतीहरू पहिचान गरी समाधानमा ध्यान दिनुपर्ने बताए। विशेषगरी कुन–कुन क्षेत्रमा निष्पक्ष निर्वाचन गर्न कठिनाइ हुन सक्छ पहिचान गर्दै त्यसअनुसार आयोगले तयारी गर्ने उनको भनाइ छ।
मिथ्या सूचना, दुष्प्रचार तथा भ्रामक अभिव्यक्तिहरूलाई नियन्त्रण गर्न आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गरिने भण्डारी बताउँछन्। निर्वाचन आयोगले आचारसंहिता कडाइका साथ लागू गर्दै निर्वाचनको विश्वसनीयता कायम गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: १२ पुस २०८२ १३:२१ शनिबार





