नेकपा एमाले ताप्लेजुङ र एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले र यहाँ रहेका पालिका कमिटीले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईमाथि शुक्रवार फक्ताङलुङ गाउँपालिकाको लेलेपमा गाली गलौज र अराजक कृयाकलाप भएको भन्दै त्यसको भर्त्सना गरेका छन् ।
एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोको उपस्थितिमा शनिवार अपरान्ह पत्रकार सम्मेलन अयोजना गर्दै एमाले ताप्लेजुङले पार्टी नेता तथा सांसद भट्टराई माथि राजनीतिक संस्कार बिर्सिएर अभद्र व्यवहार गरिएको भन्दै त्यसप्रति खेल व्यक्त गरेको हो ।
एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)द्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रमा आफ्नो बिचार राख्ने अभिव्यक्ति स्वतन्त्रता भएपनि सभ्यताको सीमाभित्र रहनुपर्ने कुरा नर्बिसन आग्रह गरेको छ । देशीविदेशी पाहुनाको उपस्थितिमा पर्यटन प्रवद्र्धनको महान उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा आमन्त्रित व्यत्तित्वमाथि भएका यस्ता अराजक गतिविधि गर्नेहरुलाई कानुनी दायरामा ल्याउनसमेत एमाले ताप्लेजुङले माग गरेको छ । पत्रकार सम्मेलनमा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष पोमूले राजनीतिक संस्कार बिपरितका यस्ता गतिविधि कुनैपनि हालतमा सैह्य नहुने बताए ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालले संविधानमा भएको व्यवस्था बिपरित आफ्ना नेतामाथि अभद्र व्यवहार भएको भन्दै त्यस्ता क्रियाकलाप नरोकिए प्रतिरोधमा उत्रने चेतावनी दिएको छ । जिल्ला संयोजक मानिक तुम्बाहाम्फे र सहसंयोजक डेभिड लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा पहिचानको नाममा गरिने यस्ता अवाञ्छित गतिविधिलाई कानुनी कठघरमा ल्याउन माग गरिएको छ ।
सरकार र प्रहरी प्रशासन यस्ता अराजक घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन तयार नभए बाध्य भएर आफूहरु नै अग्रसर हुने चेतावनी युवा संघले दिएको छ ।
कञ्चनजंघा आरोहणको ७० वर्ष पूरा भएको अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अगुवाईमा बैशाख ५–७ देखि सम्म लेलेपमा हीरक महोत्सव भइरहेको छ । नेपाल सरकारका पर्यटनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथि रहेका पूर्वमन्त्री तथा सांसद भट्टराई कार्यक्रम सकेर फर्कन लाग्दा केहि व्यक्तिहरुले अराजक गतिविधि र दुव्र्यवहार गरेको एमाले ताप्लेजुङ र युवा संघले दावी छ ।
उक्त घटनाको एमाले फुङलिङ नगर कमिटी र मिक्वाखोला गाउँपालिका कमिटीले समेत विरोध जनाएका छन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङले पनि उक्त घटनाप्रति खेद व्यक्त गरेको छ ।
प्रकाशित: ६ वैशाख २०८२ १८:२२ शनिबार





