१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक भएकोले यिनको संरक्षण र प्रवर्द्धनमा सरकारले उचित ध्यान दिने बताएका छन् । उनले नेपालका हिमाल प्राकृतिक रूपले मनाेरम मात्र नभई आध्यात्मिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेका बताए। 

कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा बैशाख ५ बाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा सुरु कञ्चनजङ्घा हीरक महोत्सव उद्‌घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले हिमालको गौरवले चौडा भएको छाति र उचाइ पाएको स्वाभिमानलाई जीवन्त राख्न हिमालको संरक्षण अनिवार्य रहेकोमा जोड दिए । नेपालका हिमालसँग नेपालीहरूको संस्कार, संस्कृति र जैविक तथा पर्यावरणीय विविधताको समेत सम्बन्ध हुने भएकोले हिमालको संरक्षण र प्रवर्द्धनमार्फत मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सकिने मन्त्री पाण्डेको भनाई थियो । 

पाण्डेले धार्मिक तथा सांस्कृतिक एकता, सद्भाव र सहिष्णुतालाई सुन्दर र शान्त बनाएर नेपालीहरूको पहिचान जीवन्त राख्ने हो भने नेपालमा हिमालसँगै संस्कृति र प्रकृतिले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति पाइरहने समेत बताए । प्रकृति र संस्कृतिलाई जोगाएर दिगो विकासमार्फत मुलुकलाई समृद्धिको अभियानमा जोड्न सकिने उनको भनाई थियो । संस्कृति र प्रकृतिको संरक्षण गर्दै गरिने दिगो विकासले मुलुकलाई अग्रगामी प्रकृतिको बनाउने बताउँदै मन्त्री पाण्डेले तीन तहका सरकारबिच समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । 

विकास, समृद्धि र संरक्षणको अभियानमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पाण्डेले पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा समेत सरकारको गहिरो ध्यान गइरहेको बताए । करिव ५ सय वर्ष पुरानो ओलाङलुङगोलास्थित दिकीछ्योलिङ गुम्बाको नामै लिएर मन्त्री पाण्डेले दिकीछ्योलिङ सहित नेपालका पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणले पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने बताए । भूगोलका हिसाबले ठूलो तर जनसंख्याका हिसाबले कम भएका भौगोलिक कठिनाइ रहेका क्षेत्रहरूको विकासका लागि अब सरकारले नयाँ ढंगले सोच अघि सारिरहेको उनको भनाई थियो । 

मन्त्री पाण्डेले भौगोलिक कठिनाइ भएका क्षेत्रहरूको विकासका लागि नयाँ रणनीति आवश्यक भएको विषयमा सरकार जानकार नै रहेको उनले दोहोर्‍याए । फक्ताङलुङ गाउँपालिका भूगोलमा हिसाबले नेपालको तेस्रो ठूलो पालिका हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले कञ्चनजङ्घा क्षेत्रको विकास अपेक्षाकृत रूपले हुन नसकेपनि विगतमा भएका कार्यहरूलाई स्वामित्वको रुपमा ग्रहण गर्दै अब यो क्षेत्रको विकासमा ध्यान दिनु आवश्यक रहेको बताए । पूर्व पर्यटन मन्त्री समेत रहेका भट्टराईले पर्यटन प्रवर्द्धनका लागि पदमार्ग व्यवस्थापन देखि होमस्टे र सुविधायुक्त होटलसम्मका पूर्वाधार आवश्यक रहेको बताए । 

उनले तमोर करिडोरको फुङलिङ–टिपताला सडक खण्डको स्तरोन्नती, तालतलैयाको संरक्षण, धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनका कार्यमा आफ्नोतर्फबाट सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको बताए । लेलेप–ओलाङचुङगोला सडक क्षेत्रको सुकेपानीमा बेलिबिज्र निर्माण देखि ताप्लेजुङका पर्यटकीय स्थलहरूको प्रचार, त्यहाँ आवश्यक पूर्वाधार निर्माण र अन्य विकासमा एजेण्डाहरूमा सहकार्य र समन्वय गरेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता समेत भट्टराईले व्यक्त गरे । 

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, बिभिन्न पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय व्यवस्थापक डाक्टर घनश्याम गुरुङ, समृद्ध पहाड परियोजनाका राष्ट्रिय निर्देशक सञ्जीव न्यौपाने समेतले महोत्सवको सफलताको शुभकामना दिएका थिए । शुक्रबार बिहान मात्र फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको थियो । 

हिमालयन ट्रस्ट युकेका अध्यक्ष ग्राम रिग्ली सहितको उपस्थितिमा पार्क सेन्टरको शिलान्यास गरिएको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण संकलन गर्ने कक्ष समेत स्थापना हुनेछन् । 

निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुने लिम्बूले जानकारी दिए । पार्क करिव ५ करोड रुपैयाँको लागतमा निर्माण हुने व्यवस्थापन परिषद्ले जनाएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम समेत हुने छ । उक्त कार्यक्रमका लागि चर्चित हास्य कलाकार मनोज गजुरेल, मिलन नेवार, डेविड शंकरसहितका कलाकार ताप्लेजुङ आई सकेका छन् । 

प्रकाशित: ५ वैशाख २०८२ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App