ऊर्जामन्त्री कुलमान घिसिङले फागुन २१ गते हुने निर्वाचनलाई नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु बनाउनुपर्ने बताएका छन्।
उज्यालो नेपाल पार्टीको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
‘सबैले नयाँ शक्तिहरू एक हुनुपर्छ भन्नुभएको छ। अब नयाँ शक्ति र नयाँ नेतृत्वको टिम अगाडि बढ्नुपर्छ,’ मन्त्री घिसिङले भने, ‘नेपालको समृद्धि र सुशासनका लागि युवाहरू नेतृत्वदायी भूमिकामा आउनुपर्छ।’
उनले वर्तमान परिस्थितिमा नयाँ राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नु आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे। अलग–अलग प्रयासभन्दा साझा उद्देश्य र सहकार्यबाट मात्रै जनआकांक्षा पूरा गर्न सकिने उनको धारणा थियो।
यसैबीच, मन्त्री घिसिङले आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन्। घिसिङसँगको भेटपछि मेयर साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पनि छलफल भएको स्रोतले जनाएको छ। नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने दिशामा गृहकार्य अघि बढिरहेको संकेतका रूपमा यी भेटघाटलाई हेरिएको छ।
प्रकाशित: १० पुस २०८२ १६:०६ बिहीबार





