नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको विरासत जोगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीमाथि विभिन्न टिकाटिप्पणी बढेकाले इतिहास जोगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
पार्टीमा राम्रो काम गरेपनि सत्तामा रहँदा अपेक्षाकृत काम गर्न नसकेपछि विभिन्न आलोचना बढेको स्थिति रहेको उल्लेख गर्दै पूर्वमन्त्री पौडेलले कांग्रेसमा अबको नेतृत्व आमनागकिलाई अपिल गर्न सक्ने आउनु पर्ने धारणा राखे । कांग्रेसमा मान्छे, कार्यशैली र व्यवहारको परिवर्तन आवश्यक रहेको बताउँदै उनले सर्वसाधारणले नीति र विचारमा नयाँपन खोजेकाले १५औं महाधिवेशनबाट नयाँ नेतृत्व आउनु पर्छ भन्नेमा आफू दृढ रहेको बताए ।
पौडेलले १४औं महाधिवेशनमा आफू महामन्त्रीमा पराजित भएकाले अबको महाधिवेशनमा पनि सोभन्दा तलको पदमा उम्मेदवार नबन्ने संकेत गरे । महामन्त्रीभन्दा माथि जाने अवस्था नरहेको र तल झरेर उम्मेदवारी दिने सम्भावना पनि नरहेको बताउँदै उनले १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुने संकेत गरेका हुन् । यद्यपि उम्मेदवारीबारे आफूले औपचारिक घोषणा भने गरिनसकेको उनको भनाइ थियो ।
प्रकाशित: १० पुस २०८२ १६:०६ बिहीबार





