९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले विराटनगर अधिवेशन विवाद: इतरपक्षका नेता ढकालले छाडे मञ्च

मञ्च छाडेर निस्कँदै एमाले नेता विनोद ढकाल । तस्बिर: विनोद सुवेदी /नागरिक

नेकपा एमाले विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकालले मञ्च बहिस्कार गरेका छन् । मंगलबार विराटनगर स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा सुरू भएको अधिवेशनको मञ्च छाडेर हिँडेका ढकाल कार्यकर्ताहरूको आग्रह पछि दर्शक दीर्घामा बसेका थिए ।

मंगलबार सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा मञ्चमा आसन ग्रहण गरेका ढकाल र कोशी प्रदेश इन्चार्ज शेरधन राईबिच मञ्चमै केही बेर चर्काचर्की भएको थियो। राईसँगको चर्काचर्की पछि ढकाल मञ्च छाडेर हिँडेका थिए ।  नेकपा एमाले  इतर समूहका प्रभावशाली नेताका रुपमा रहेका ढकालले उद्घाटन सत्र बहिस्कार गरेर हिँड्न लागे पछि विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष बासु बस्नेतले ढकाललाई तानेका थिए । बस्नेतले तानेपछि ढकाल अधिवेशन उद्घाटन सत्रको दर्शक दीर्घामा बस्न राजी भएका थिए । संसदीय निर्वाचनमा पराजित भएपछि कमजोर बनेका नेता ढकाललाई विराटनगरमा आयोजना हुने कार्यक्रममा विरलै मात्र मञ्चमा आसन ग्रहण गराउने गरिएको थियो ।

नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा आफ्नो पक्षका उम्मेदवारहरू  प्यानलै विजयी बनाउन सफल भएपछि ढकाललाई पार्टीका कार्यक्रमहरूमा आसन ग्रहण गराउन सुरू गरिएको  छ । महानगर कमिटीको अधिवेशनमा पनि मञ्चमा आसन ग्रहण गराएर बोल्न नदिएपछि ढकाल आक्रोशित  भएका थिए । उद्घाटन कार्यक्रमलाई छोटो बनाउन सीमित वक्तालाई मात्रै अधिवेशन उद्घाटन सत्रमा बोल्न दिइएको विराटनगर महानगर कमिटी अध्यक्ष रोहित कोइरालाले बताए । 

चुलिँदै असन्तुष्टि 

इतर पक्षका नेता कार्यकर्तालाई एमालेको संस्थापन( केपी ओली ) पक्षले विभेद गर्दै आएको भन्दै स्थानीय नेता कार्यकर्ताहरूमा असन्तुष्टि चुलिँदै गएको छ । मंगलबार विराटनगर महानगर पालिकाको अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष अजम्बर राईले पार्टीको जिल्ला कमिटीसँग समन्वय नगरी अधिवेशन आयोजना गरिएको गुनासो गरेका थिए । राईले सबै स्थानमा जित हाँसिल गर्न पार्टीले मिसन ०८४ लिएको भए पनि मोरङमा पार्टीलाई उत्तरी र दक्षिणी भनेर विभाजन गर्ने प्रयास भइरहेको बताए । उनले ०८४को निर्वाचनमा धुलोपीठो भएपछि मात्रै आफूहरू सुध्रिने बताए । उनले भने‘०८४को निर्वाचनमा धुलोपीठो नभई हामी सुध्रिन्छौ जस्तो छैन ।’ 

विराटनगर महानगरपालिकाको अधिवेशनमा स्वयंसेवक समेत पालिका बाहिरबाट ल्याइएको उनको गुनासो छ । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश इन्चार्ज तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले पार्टीका अधिवेशनहरूमा व्यक्तिगत स्वार्थका आधारमा अनेकौँ झमेला सिर्जना गर्ने प्रयास भइरहेको बताए । इन्चार्ज राईले मोरङ जिल्लाको अधिवेशनमा जे भयो पालिका वडामा पनि त्यही गर्न नहुने बताए । उनले सर्वसम्मत रुपमा नयाँ कमिटीहरू चयन गर्नुपर्ने धारणा राखे । नेता राईले सर्वसम्मत महानगर कमिटी चयन गर्नुपर्ने धारणा राखिरहेपनि महानगरपालिकाको नयाँ कार्यसमितिको नेतृत्वमा दुई पक्षले प्यानलै बनाएर चुनावको प्रचारप्रसार गरिरहेका थिए । 

विराटनगर महानगर पालिकाको पदाधिकारीमा संस्थापन पक्षबाट अध्यक्षमा रोहित कोइराला,उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगीले उम्मेदवारी दिने तयारी गरेका छन् । यता संस्थापन इतर पक्षबाट अध्यक्षमा बलाराम गिरी, उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईँ, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल आकांक्षी रहेका छन् ।  

प्रकाशित: २ वैशाख २०८२ १७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App