नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रका दाइहरूको लहलहैमा लागेर अहिल्यै गुटमा नबाँडिन कार्यकर्तालाई सुझाव दिएका छन्। धनकुटामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले १५ औँ महाधिवेशनसम्म आइपुग्दा कुन दाइ कोसँग मिल्छ भन्ने थाहा नभएकाले नबाँडिन कार्यकर्तालाई सुझाव दिएका हुन्।
‘अहिल्यै फलानो दाइका नाममा, ढिस्कानो दाइका नाममा तपाईँहरू कोही पनि नबाँडिनुहोला,’ गगनले भने, ‘ती माथिका दाइहरू कति बेला कोसँग मिल्छन् तपाईँहरूलाई थाहा छ ?’
तल कार्यकर्ता बाँडिँदा माथि रातारात को दाइ कुनसँग मिलिदिन्छ थाहा नभएको उनले बताए। ‘१५ औँ महाधिवेशनमा को कोसँग मिल्छ थाहा छैन। अहिले यहाँ दाइदाइ दाइदाइ भनेर हिँड्यो पछि उता को कोसित मिल्दिन्छन् अनि पछि हेर्याहेर्यैँ भइन्छ,’ गगनले भने।
त्यसैले अधिवेशन मात्रै नभनेर मज्जाले पार्टीको काममा लाग्न उनले कार्यकर्तासँग आग्रह गरे। उनले भने, ‘धेरै अधिवेशनका बारेमा सोच्नुपर्ने जरुरी छैन। म देशभरका कार्यक्रममा गइरहेको छु । धेरैले सोध्छन् अधिवेशन लाग्यो कि क्या हो ? अधिवेशन धेरै परको कुरा, मत चकटीमा बस्न पनि तयार।’
प्रकाशित: ३० चैत्र २०८१ १९:५७ शनिबार