१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

नेपालमा विदेशी लगानी भित्र्याउन चीनमा छलफल

चीनको चाइना वुमेन्स युनिभर्सिटी र चीन सरकारअन्तर्गतको सम्बन्धित निकायले आयोजना गरेको १५ दिने अन्तर्राष्ट्रिय महिला नेतृत्व तथा क्षमता विकास कार्यक्रममा सहभागी नेपाली टोलीले बेइजिङस्थित नेपाली दूतावासको भ्रमण गरेको छ।

कार्यक्रमको चौथो दिन दूतावास पुगेको नेपाली टोलीले कार्यवाहक राजदूत रोशन खनालसँग भेटवार्ता गर्दै नेपाल–चीनबीच व्यापार, लगानी, उद्यमशीलता तथा आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गरेको थियो।  

भेटका क्रममा साना, मझौला तथा ठूला उद्योगको विकास, विदेशी लगानी भित्र्याउने उपाय तथा दुई देशबीचको सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान भएको सहभागी महिला उद्यमी महासंघको निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक शोभा ज्ञवालीले जानकारी दिइन ।  

कार्यवाहक राजदूत खनालले आगामी जुलाईमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्ने विषयमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिँदै त्यसमा सहभागी हुन नेपाली उद्यमी तथा कार्यक्रमका सहभागीहरूलाई निमन्त्रणा दिएका छन्।

कार्यक्रममा चीनको विकास मोडल, विज्ञान तथा प्रविधिको प्रयोग, डिजिटल नेतृत्व, प्रशासनिक सुधार र आर्थिक रूपान्तरणका विषयमा प्रशिक्षण दिइएको छ। कार्यक्रममा नेपालबाट ज्ञवालीसहित विभिन्न देशका करिब ५० जना सहभागी छन् ।

सहभागीहरूका अनुसार चीनले विज्ञान, प्रविधि र नीतिगत सुधारमार्फत हासिल गरेको विकास अनुभवलाई बुझ्ने तथा विभिन्न देशका प्रतिनिधिबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। प्रशिक्षणपछि टोलीले चीनका अन्य सहरहरूको अध्ययन भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।

भेटका क्रममा कार्यवाहक राजदूत खनालले नेपाल–चीन आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा दूतावासले पहल गरिरहेको उल्लेख गर्दै नेपाली उत्पादन, विशेषगरी चिया, कफी तथा अन्य निर्यातयोग्य वस्तुहरूको चिनियाँ बजार विस्तारका सम्भावनाबारे पनि चर्चा गरेका थिए।

प्रकाशित: १७ जेष्ठ २०८३ २०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App