१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

चितवन सडक आश्रित मानवमुक्त जिल्ला घोषणा

चितवन जिल्लालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको छ । मानवता प्रवद्र्धन महाअभियानलाई सफल बनाउने उद्देश्यसहित मानव सेवा आश्रमको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरि जिल्लालाई औपचारीक रूपमा सडक आश्रित मानवमुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणा मात्र नभई यसको दिगोपनाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले मानव सेवासँग जोडिएका कार्यमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै बागमती प्रदेशलाई नै सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने योजना ल्याउन आग्रह गरे ।  

‘भौतिक पूर्वाधार, खाना र नानाको व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्छ,’ उनले भने, ‘स्थानीय तहमार्फत आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।’ उनले मानव सेवासँग जोडिएको काममा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । ‘सुरुवा स्थापना गर्दा साइकल समेत दिएको थिएँ । अहिले त दिने ठाउँमा छु’ उनले भने ‘बागमती प्रदेशलाई सडक आश्रित मानवमुक्त घोषणा गर्ने योजना ल्याएर आउनुहोस् भौतिक पुर्वाधार, खाना र नानाको व्यवस्था हामी गर्छौँ।’

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मानव सेवा जस्तो विषयमा पक्ष–विपक्षभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सडक आश्रित मानवमुक्त अभियानलाई समेटिने जानकारी दिए । सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी ले मानव सेवा आश्रमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि सक्रियता कायम राख्न आग्रह गरिन् ।

भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी ले सामाजिक तथा मानवीय कार्यका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरी बजेट विनियोजन गर्ने बताए । कार्यक्रमका अवसरमा सडकमा आश्रयविहीन अवस्थामा जीवन बिताइरहेका व्यक्तिहरूको स्याहार, सुरक्षा र संरक्षणका लागि मानव सेवा आश्रम भरतपुर, जिल्ला समन्वय समिति, जिल्लाका सातवटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबीच सहकार्य गर्ने सम्झौतासमेत गरिएको छ ।

चितवनलाई सडक आश्रित मानवमुक्त घोषणा गर्नुअघि जिल्लाका सबै स्थानीय तहलाई क्रमशः मानवमुक्त घोषणा गरिएको थियो । २०७६ कात्तिक ९ गते भरतपुर महानगरपालिकालाई पहिलोपटक घोषणा गरिएको थियो भने जेठ १२ गते कालिका नगरपालिका घोषणा भएसँगै जिल्लाका सबै स्थानीय तह मानवमुक्त बनेका हुन् ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी का अनुसार आश्रमले हालसम्म देशभर १३ हजार ४४ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । तीमध्ये ५ हजार ४९५ जनाको पारिवारिक पुनर्मिलन, १ हजार ८४ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ भने १ हजार ७०३ जनाको आश्रममै मृत्यु भएको छ। हाल देशका २३ जिल्लामा सञ्चालित ३३ सेवा केन्द्रमा २ हजार २७ जना आश्रित रहेका छन् ।

चितवनमा मात्र हालसम्म १ हजार ११ जनाको उद्धार गरी आश्रय प्रदान गरिएको छ । हाल भरतपुरस्थित आश्रममा १५४ जना आश्रित रहेका छन् । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै ८५७ जना भरतपुर महानगरपालिकाका रहेका छन् । कार्यक्रमका सभाध्यक्ष तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सडक मानवमुक्त अभियान सफल बनाउन योगदान पु¥याउने सबै संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे ।

मानव सेवा आश्रमले आगामी २०८३ सालभित्र नेपाललाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । हालसम्म गण्डकी र कर्णाली प्रदेशलाई सडक मानवमुक्त घोषणा गरिसकिएको छ ।

प्रकाशित: १७ जेष्ठ २०८३ २०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App