३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शेखरको भनाइमा देउवा सहमत: सहकारीका* नाममा धेरै बदनामी भइरहेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले धेरैपछि शनिवार मञ्च सेयर गरे। पार्टी राजनीतिको दुई धारमा हिँडिरहेका यी दुई नेता १४ औँ महाधिवेशनका प्रतिस्पर्धी पनि हुन्। त्यसपछि केही समय दुवै जना नजिकिएका थिए।पछिल्लो समय महामन्त्री गगन थापा सभापति देउवासँग नजिकिएपछि शेखरले देउवासँग दूरी बढाउँदै लगेका छन्। विशेष गरी राष्ट्रिय राजनीतिमा कांग्रेसले लिएको धारसँग विपरीत शेखर सुनिँदै आएका छन्। विगतमा कांग्रेस नेकपा माओवादी केन्द्रलगायतको गठबन्धन हुँदा शेखरले एमालेसँग सहकार्यमा थिए। कोसी प्रदेशमा एमालेसँग मिलेर आफूनिकट केदार कार्कीलाई विद्रोह गराएर मुख्यमन्त्री बनाए। उनी त्यो बेला एमालेसँगको सहकार्यमा कांग्रेस जानुपर्ने बताउँथे। 

अहिले कांग्रेस–एमालेसँगको सहकार्यमा हुँदा शेखर प्रतिपक्षी नेताझैँ सुनिँदै आएका छन्। 

शनिवार सभापति देउवासँग मञ्च सेयर गर्दा पनि शेखर उसै गरी सुनिए। तर तुलनात्मक रूपमा सन्तुलित तवरले आफ्नो धारणा राखे। त्यसमा पनि उनले ‘कांग्रेस सत्तामा रहे पनि सरकारमा नरहेको’ भन्दै उनले टिप्पणी गरे। 

‘नेपाली काँग्रेस सम्मिलित सरकार हो यो । यो सरकारमा हामी पनि सरकारमा छौँ । मैले त एउटा कुरा भन्ने गरेको छु, हामी सत्तामा छौँ तर सरकारमा छैनौँ,’ शेखरले भने। उनको त्यसको कारण कांग्रेसको प्रतिस्पर्धा कुनै पनि ठाउँमा एमालेसँगै हुने कुरा उल्लेख गरे। ‘हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन,’ उनले भने, ‘तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ । त्यो नगरे नेपाली काँग्रेस अप्ठ्यारोमा पर्छ।’

त्यसपछि शेखरले सुशासनको विषयमा घुमाउरो शैलीमा प्रश्न उठाए। उनले भने, ‘सुशासन  वास्तवमा छैन भने पनि हुन्छ । सुशासन दिलाउनलाई कन्जुस्याइँ नगरौँ।’ सोही क्रममा ‘भ्रष्टाचारको म कुरा गर्दिनँ’ भन्दै सफ्ट भाषा प्रयोग गरे। ‘दण्डहीनता बढेको बढ्यै छ । यो कुरालाई हामीले नियन्त्रण गरेर अघि जान सक्छौँ भन्ने मलाई विश्वास छ’, शेखरले भने। 

सँगै शेखरले संविधान पुनरावलोकन र संशोधन गर्ने विषयमा सरकारको प्रतिबद्धता जति ढिलाइ गरिन्छ त्यति सडक आक्रोशित हुने बताएका थिए। 

फरक प्रशंगमा शेखरले सहकारी भन्ने वित्तिक्कै अहिले डर लाग्ने गरेका बताएका छन्। ‘सहकारी भन्ने वित्तिक्कै अहिले शरीर जिरिङ हुन्छ। जसरी अहिले देशमा सहकारीमा हिनामिना भएको छ। रोजीरोटी गरेर जम्मा गरेका पैसा हिनामिना गरेको लुकेको छैन,’ उनले भने। यसैले अन्य सहकारी संस्थाहरुले ध्यान दिनुपर्ने उनले बताए। 

शेखरकाे राजनीतिक विषयमा राखेको फरक मतमा भने सभापति देउवा प्रवेश गरेनन्। तर सहकारीको विषयमा भने शेखरको कुरालाई देउवाले स्वीकार गर्दैै त्यसमा ध्यान दिनुपर्नेमा सहमति जनाए।  

‘अघि शेखर कोइरालाले भनिसक्नुभयो। सहकारीको नाममा अहिले धेरै ठुलो बदनामीहरू भइरहेको छ,’ देउवाले भने, ‘यो नहोस् भनिसक्नु भयो। त्यसैले शेयर होल्डरको पैसा जनताको पैसा भएको हुनाले यसको अनावश्यक खर्च हुनुहुँदैन।’ 

*यसअघि यो समाचारमा शीर्षक फरक परेकोले सच्याइएको छ।

प्रकाशित: ३० चैत्र २०८१ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App