गृहमन्त्री रमेश लेखकले तीनकुने प्रर्दशनका क्रममा घाइते भएका बिरामीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने स्पष्ट पारेका छन्।
बुधबार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले चैत्र १५ गतेको घटनामा घाइते भएका नागरिकहरूका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गरिसकेको जानकारी दिए।
‘‘सरकारको स्पष्ट निर्णय छ – घाइतेहरूको उपचार सरकारले गर्छ,’’ गृहमन्त्री लेखकले भने, ‘‘म यहाँ आएँ किनभने सबैले निःशुल्क उपचार पाए कि पाएनन् भनेर प्रत्यक्ष बुझ्न चाहन्थें।’’
उपचारको क्रममा केही औषधि बाहिरबाट किन्नुपर्ने अवस्था आए पनि त्यसको खर्च सरकारले व्यहोर्ने उल्लेख गर्दै उनले भने, ‘‘यदि कसैले आफैंले औषधि किनेर खर्च गरेको हो भने, त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा पठाइएमा सरकारले त्यसको भुक्तानी गर्नेछ।’’
उनका अनुसार, अस्पतालले भौचर प्रमाणित गरेपछि सम्बन्धित बिरामीको नाममा भएको खर्च सरकारले फिर्ता दिनेछ।
घाइतेका आफन्तले उपचारपछि पुनःस्थापनाको विषयमा सरकारको योजना के छ भनेर जिज्ञासा राख्दा मन्त्री लेखकले उक्त विषयमा पनि सरकार गम्भीर रहेको जानकारी गराए।
उनले भने, ‘‘उपचारपछि घाइतेहरूको भविष्यको व्यवस्थापन र सहयोगका लागि पनि सरकारले योजना बनाउँदैछ।’’
प्रकाशित: २७ चैत्र २०८१ १८:११ बुधबार





