निर्वाचन आयोग, नेपालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले मतदाता नामावली ऐन, २०७३ तथा अद्यावधिक कार्यविधि, २०७९ अनुसार प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरेको हो।
आयोगका अनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकको विवरण समावेश गरिएको छ।
प्रकाशित अन्तिम मतदाता नामावलीमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश भएका छन्।
आयोगले सम्बन्धित मतदाताले आफ्नो नाम मतदाता नामावलीमा समावेश भए/नभएको आयोगको वेबसाइट www.election.gov.np मार्फत समेत हेर्न सक्ने जनाएको छ।
निर्वाचन आयोगले सबै मतदातालाई नामावलीमा आफ्नो विवरण जाँच गर्न तथा निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

प्रकाशित: १२ पुस २०८२ १७:३१ शनिबार





