११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मेरिङदेनले जैविक विवधिता, प्राकृतिक तथा सनातन सांस्कृतिक सम्पदाको संरक्षण गर्ने

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले तीनजुरे–मिल्के–जलजले(टिएमजे)को पालिका क्षेत्रमा पर्ने भू–भागमा उपलब्ध जैविक विवधिता, प्राकृतिक तथा सनातन सांस्कृतिक सम्पदाको संरक्षणका लागि अभियान चलाउने भएको छ ।  

गाउँपालिकाले सामुदायिक जैविक सांस्कृतिक सम्पदा संरक्षित पर्यापर्यटकीय विशेष क्षेत्र व्यवस्थापन कार्यविधि जारी गर्दै समुदायको सहभागितामा कार्यक्रम अघि बढाउने निर्णय लिएको छ । गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार गाउँपालिकामा बसोबास गर्ने स्थानीय समुदायलाई समेत सक्रीय सहभागी गराई पालिकाको जैविक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणका अभियान अघि बढाईने छ । कार्यविधिमा जैविक तथा सांस्कृतिक सम्पदाहरुको बिशेष क्षेत्र सवन्धी व्यवस्था गरिएको छ । 

पालिका अध्यक्ष सामुदायिक जैविक सांस्कृतिक सम्पदा संरक्षित पर्यापर्यटकीय बिशेष क्षेत्रको संरक्षक रहने छन् भने उपाध्यक्ष सहसंरक्षक रहने व्यवस्था गरिएको छ । जैविक सांस्कृतिक सम्पदालाई हानी नोक्सानी गर्ने तथा थप भौतिक पूर्वाधार निर्माणलाई निरुत्साहित गर्दै पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, पर्यावरणीय क्षेत्र, जैविक विविधता, तालतलैया, जलाधार, पिटल्याण्ड, सीमसार क्षेत्र, जीवजन्तुको संरक्षण गर्ने र टीएमजे क्षेत्रको स्वामित्व स्थापित गर्ने सहितका १२ वटा मुख्य उद्देश्य राखेर कार्यविधि जारी गरिएको पालिका अध्यक्ष हाङगामले जानकारी दिए ।  

कार्यविधि अनुसार जैविक सांस्कृतिक सम्पदा रक्षार्थ अनुमति प्राप्त गरी वैज्ञानिक अनुसन्धानको निमित्त नमूना संकलन बाहेक अन्य अवस्थामा कुनैपनि जीवजन्तु, पंक्षी वा जलचरलाई मार्न, पक्रन, लखेट्न, तर्साउन वा चोटपटक पार्न, धरापमा पार्न पासोमा पार्न वा सोको उद्योग गर्न पाइने छैन । यस्तै बिशेष क्षेत्रभित्र कुनैपनि किसिमको किटनाशक बिषादी लैजान वा रसायकिन पदार्थको प्रयोग गरी जनावरलाई लठ्याउन, बिषालु पदार्थ फ्याँक्न वा नदी, खोला, ताल, पानीको कुनै स्रोत वा सिमसारमा मिसाउन प्रतिवन्ध गरिएको छ ।

प्लाष्टिकका बोतल, प्लाष्टिकजन्य झोला तथा खोलहरु र यस्तै अन्य वातावरण प्रदुषण गर्ने सामग्री प्रयोगमा ल्याई जथाभावी फाल्न र अनुमति बेगर निशेधित क्षेत्रमा प्रवेश गरी जथाभावी आगो बाल्न र डढेलो लगाउन समेत बन्देज गरिएको छ । बिशेष क्षेत्र वा आसपासमा रहेको कुनैपनि भौतिक तथा पुरातात्विक महत्वका संरचनालाई क्षति पु¥याउन तथा भू–क्षय जस्ता प्राकृतिक प्रकोप निम्तने कुनैपनि किसिमको कार्य गर्न,ध्वनी प्रदुषणजन्य सामग्रीको प्रयोग गर्न, कुनैपनि किसिमको चिन्ह, संकेत वा विज्ञापनका सामग्री अनुमति बेगर राख्न समेत प्रतिवन्ध गरिएको छ । स्थानीय सनातन धर्म संस्कृति, परम्परा, जीवजन्तु तथा प्रकृतिलाई असर पर्ने कुनैपनि किसिमको भौतिक संरचना निर्माण गर्न र मिचाहा प्रजातिका तथा नेपाल सरकारले निशेध गरेका पशुपंक्षी वा बोटबिरुवा बिशेष संरक्षित क्षेत्रभित्र ल्याउन वा छाड्न समेत कार्यविधिले प्रतिवन्ध गरेको छ । 

प्राकृतिक तथा सांस्कृतिक सनातन सम्पदालाई हानी नोक्सानी हुनेगरी डोजर वा एक्साभेटर चलाउन समेत कार्यविधिले प्रतिवन्ध गरेको छ । बिशेष संरक्षित क्षेत्रको चारकिल्ला समेत निर्धारण गर्दै पालिकाले यो क्षेत्रमा रहेका वन्यजन्तुलाई अवैध रुपमा छेक्न,थुन्न वा बन्धक बनाएर राख्न समेत निशेध गरेको छ । गाउँपालिकाको पूर्व स्वीकृति बेगर बिशेष संरक्षित क्षेत्रमा बृत्तचित्र निर्माण र छायाङ्कन लगायतका कार्य गर्न समेत नपाइने भएको छ । बिशेष संरक्षित क्षेत्रभित्र रहेका पानीका स्रोतहरुलाई खानेपानी वा सिचाँईका लागि अन्य लैजान र उक्त क्षेत्रभित्र लघु तथा साना जलविद्युत आयोजना सञ्चालन गर्न समेत प्रतिवन्ध गरिएको छ ।

प्रकाशित: २६ चैत्र २०८१ २०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App