प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहकार्यले राष्ट्रिय समस्याहरू समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको बताएका छन्।
सोमबार हिमालयन डायलगको कार्यक्रममा सम्बोधन गर्दै गर्दै उनले दुई ठूला दलहरू प्रतिस्पर्धी भए पनि जटिल राष्ट्रिय समस्याहरू समाधान गर्न संयुक्त रूपमा काम गरिरहेको उल्लेख गरे।
उनले भने, “एमाले र कांग्रेसजस्ता मूल प्रतिस्पर्धीहरू अहिले एक ठाउँमा मिलेर राष्ट्रका समस्याहरू समाधान गर्न तयार छन्। यो राष्ट्रिय एकताको बाटो होइन र ? यी दुई एक हुनु भनेको राष्ट्रिय एकताका लागि ‘मेजर स्टेप’ हो।”
प्रधानमन्त्री ओलीले अहिलेको सरकार सहमति र सहकार्यमा आधारित रहेको बताउँदै आन्तरिक नीति निर्माण र अन्तर्राष्ट्रिय सम्बन्धमा दलहरू एकताबद्ध भएको दाबी गरे।
“अहिलेको अवस्था बिग्रन लाग्यो, जटिल भयो भनेर ती जटिलताहरूलाई समाधान गर्न हामी संयुक्त रूपमा प्रयास गरिरहेका छौं,” उनले थपे, “रस्साकस्सी वा व्यक्तिगत स्वार्थको कुरा होइन, हामी एक ठाउँमा सहमत छौं।”
उनले केही आलोचकहरूले सधैं असन्तुष्टि व्यक्त गर्ने गरेको भन्दै रोचक प्रसंग जोडेर टिप्पणी गरे।
“एउटा किर्नोले भैंसीको पिठ्युँमा बसेर खाएछ, अघाएछ । के भयो भन्दा ‘भैंसी खाएँ’ भनेछ। तैंले भैंसी खाइस् भन्दा ‘खाए, खाएकै हो, तर ले थाहा पाएन’ भनेछ। केही प्रतिस्पर्धा यस्तै हुन्छ, खान्छन्, खाएँ भन्छन्, तर भैंसीले थाहा पाउँदैन,” उनले भने।
उनले यो उदाहरणमार्फत प्रतिस्पर्धाभन्दा सहकार्यमा जोड दिँदै सरकार सहमतिकै आधारमा चलिरहेको बताए।
प्रधानमन्त्री ओलीको यो भनाइले एमाले र कांग्रेसको गठबन्धनलाई राष्ट्रिय एकताको आधारका रूपमा प्रस्तुत गरेको छ। उनले केही आलोचनाहरू साँचो भए पनि धेरैजसो अनावश्यक भएको संकेत गरे।
प्रकाशित: २५ चैत्र २०८१ १५:२१ सोमबार