१ वैशाख २०८२ सोमबार
image/svg+xml १६:१४ अपराह्न
राजनीति

बीपीको शालिकमा कालोमोसो दलेको फोटो भाइरल भएपछि राप्रपाले भन्यो : भवितव्य घटना भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले हिजो (शनिबार) साँझ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटना भवितव्य रूपमा भएको स्वीकार्दै माफी मागेको छ।

राजावादीहरूले बाँके २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणाको रिहाइको माग गर्दै शनिबार साँझ राँके जुलुस निकालेका थिए। सोही क्रममा उनीहरूले बीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेका थिए। बीपीको शालिकमा कालोमोसो दलेको फोटो भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ।

उक्त फोटो भाइरल भएर व्यापक आलोचना हुन थालेपछि राप्रपाको नगर कार्यसमिति नेपालगञ्जले आज एक विज्ञप्तिमा जारी गर्दै माफी मागेको हो। राप्रपाले 'उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्यसमिति क्षमाप्रार्थी छौँ' भनेको छ।

राप्रपाको नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले आफ्ना नेताहरूको रिहाइको माग राखेर गरिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको दाबी गरेका छन्।

'हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइरला हामी सबैका जनप्रीय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहने छ,' केसीले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित: २४ चैत्र २०८१ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App