राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन्।
उनले सरकारको यो कदमलाई केवल व्यक्तिगत अन्याय नभई देशकै सफलता र आशामाथि प्रहार भएको बताइन्।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै उनले लेखेकी छन्, ‘’देशभर १८–१८ घण्टा लोडसेडिङ खेपिरहेका जनतालाई उज्यालो नेपाल पनि सम्भव छ है भनेर प्रमाणित गर्ने मान्छे हुन् कुलमान घिसिङ। उनले सम्भावना मात्र देखाएनन्, नेपाल उज्यालो बन्न सक्छ भन्ने प्रमाणित पनि गरे। तर, आज त्यही नेतृत्वलाई सरकारको दम्भले कार्यकाल सकिनु चार महिना अगाडि नै बर्खास्त गर्यो। यो निर्णय केवल व्यक्तिगत अन्याय होइन, देशकै सफलता र आशामाथि प्रहार हो। लोकतन्त्रमा सरकारको शक्तिभन्दा माथि कानुन र न्याय हुन्छ। मलाई विश्वास छ, यसपटक पनि अदालतले प्रमाणित गर्नेछ कि देश बहुमतको दम्भले होइन, कानुन र न्यायको शासनले चल्छ।‘’
उनले सरकारको निर्णयप्रति प्रश्न उठाउँदै कानुनी निकायको भूमिकामाथि विश्वास व्यक्त गरिन्।
कुलमान घिसिङको बर्खास्तीलाई लिएर राजनीतिक वृत्तमा लगातार आलोचना भइरहेको छ भने सामाजिक सञ्जालमा पनि सरकारको निर्णयको विरोध चुलिँदै गएको छ।
प्रकाशित: ११ चैत्र २०८१ २३:१२ सोमबार