नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र धेरै संघर्षपछि स्थापित भएको उल्लेख गर्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे।
‘विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईरालाजस्ता नेताहरूले लडेर गणतन्त्र ल्याएका हुन्। यो नेपाली जनताको इच्छा अनुसार आएको व्यवस्था हो, कसैको रहरले परिवर्तन हुँदैन।’
सभापति देउवाले गणतन्त्रलाई नेपाली जनताले स्वीकार गरिसकेको भन्दै पूर्वराजालाई अनावश्यक आशा नगर्न सुझाव दिए। ‘नेपालको संविधान समावेशी, समानुपातिक प्रतिनिधित्वसहित हिमाल, पहाड, तराईका सबै क्षेत्रलाई अटाउने गरी बनेको छ। अब यो व्यवस्थालाई कसैले धम्क्याउन सक्दैन।’
उनले कुनै हालतमा पनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हट्न नसक्ने दोहोर्याउँदै भने ‘हामीले ल्याएको यो व्यवस्था बलियो बनाउन अझै धेरै मेहनत गर्नुपर्छ।’
सभापति देउवाले नेपालको संविधान सबै वर्ग, क्षेत्र, र समुदायको प्रतिनिधित्व गर्ने दस्तावेज भएको उल्लेख गर्दै संविधान प्रदत्त अधिकारमा सबैलाई समान रूपमा सहभागी गराइएको बताए।
प्रकाशित: १४ चैत्र २०८१ १६:४५ बिहीबार